जेष्ठ ५, २०७४- स्थानीय चुनावको मुखैमा नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईले गृहजिल्ला गोरखाबाट कान्तिपुरसँग भनेका थिए, ‘जनयुद्धदेखि यसअघिका दुवै संविधानसभा चुनावमा जनताले मैले रोजेको बाटोमै मत दिएका छन्, यो चुनावमा पनि हाम्रो पार्टीलाई अत्यधिक मत दिएर जिताउनेछन् ।’ आफ्नो मुख्य आधारक्षेत्र पालुङटार नगरपालिकामै तेस्रो स्थानमा चित्त बुझाउनुपरेपछि तिनै भट्टराईले बिहीबार टीट गरे, ‘नवजात शिशु नयाँ शक्तिलाई लड्दैपड्दै दौडन सिक्न र वैकल्पिक राजनीतिको लामो यात्रा तय गर्नु जनताले दिएको आदेशलाई हामी विनम्रतापूर्वक स्विकार्दछौं ।’ भट्टराईको यो टीटले तत्क्षणको चुनावी हारको स्वीकारोक्ति मात्रै झल्कँदैन, उनको आगामी ‘लामो यात्रा’ कस्तो हुने हो भन्ने अनिश्चयसमेत संकेत गर्छ ।
एकातिर गृहजिल्लाका पालुङटारसहित अन्य क्षेत्रमा कमजोर चुनावी पकड, अर्कातिर भट्टराईले छाडेको माओवादी केन्द्रको टुटफुटबीच अझै तेस्रो वर्चस्व– उनलाई अप्ठेरामा पार्नु यी दुई कारण पर्याप्त छन् । पालुङटारको मेयरमा कांग्रेसका दीपक कँडेलले ४ हजार ६ सय ९८ मतसहित जित हात पार्दा माओवादीका गुणराज देवकोटा त्यसैको हाराहारीमा ४ हजार ४ सय ९१ मतसहित निकटतम प्रतिद्वन्द्वी बन्न पुगे । जब कि भट्टराईले अत्यधिक मतसहित जित्ने दाबीबीच नयाँ शक्तिका अशोक देवकोटा ३ हजार ९ सय ७७ मतसहित तेस्रो हुन पुगे । अनि उपमेयरमा पनि माओवादी केन्द्रले नै विजय हात पार्नुले भट्टराईलाई आफ्नो प्रभाव पुष्टि गर्ने अर्को मौका पनि दिएन ।‘चुनाव परिणामबाट हतोत्साही छैनौं, १०×–११ महिनाको छोटो प्रयासमा पनि सम्मानजनक मत पाएका छौं,’ भट्टराईले बिहीबार कान्तिपुरसँग भने, ‘कतिपयलाई हामी माओवादीबाटै फुटेको टुक्रा भन्ने भ्रम पनि भएछ, हामी समृद्धिको एजेन्डासहित वैकल्पिक शक्ति बन्ने प्रयासमा जिरोबाटै सुरु गरेका हौं । जनतालाई हाम्रो सोच के हो भन्ने बुझाउन अझै मेहनत आवश्यक देखिएको ठानेका छौं ।’ आफ्नो दलजस्तै छोटो अवधिमा उदाएका विवेकशील नेपाली पार्टी र साझा पार्टीले किन सहरी जनमत तुलनात्मक रूपमा बढी आकर्षित गरिरहेका त भन्ने जिज्ञासाको जवाफमा उनले भने, ‘उहाँहरूले प्रचारप्रसार र सबै ढंगले सहरमै केन्द्रित हुने रणनीति लिनुभयो, जब कि हामीले हिमाल, पहाड, तराई सबै क्षेत्रका दुर्गम भेगमा पनि उसैगरी महत्त्वका साथ काम थालेका छौं ।’
भट्टराईले चुनाव हुने बेलासम्म पनि आफ्नो चिह्न नपाउनु, सट्टामा संघीय समाजवादी फोरमको मसाल चिह्न जनतामा पुर्याउन नसक्नुलाई पनि पराजयको अर्को कारण दाबी गरे । तर, विवेकशील पार्टीकी काठमाडौं मेयर प्रत्याशी रञ्जु दर्शनाले पनि आफ्नो चिह्न पाउनुको साटो अन्तिम अवधिमै इस्टकोट पाएकी थिइन्, अनि साझा पार्टीका किशोर थापाले क्यामरा । यति हुँदाहुँदै बिहीबार साँझसम्म काठमाडौंकी मेयर प्रत्याशी दर्शनाले २ हजार ४९८, थापाले १ हजार ८ सय ८८ पाउँदा नयाँ शक्ति र फोरमका संयुक्त उम्मेदवार पवित्र बज्राचार्यले केवल ८९ मत पाएका छन् । अरू महानगर र स्थानीय तहमा पनि नयाँ शक्तिको उपस्थिति निकै कमजोर देखिन्छ ।
‘हिजो जुन सैद्धान्तिक धरातलमा उभिएर बाबुरामजीको छवि बन्यो, त्यसको विकल्पमा उहाँ जान खोज्दा जनताले सहजतापूर्वक ग्रहण गर्नु सकेनन् भन्ने दृष्टान्त यो चुनाव परिणाम हो,’ भट्टराईलाई लामो समयदेखि नजिकबाट चिन्दै आएका एक प्राध्यापकले भने, ‘उहाँ मूलधारका पुराना पार्टीभन्दा विकल्प हुनुहुँदो रहेनछ भन्ने चुनावले देखायो । उहाँले न सहरिया वर्गलाई आफूप्रति आश्वस्त तुल्याउन सक्नुभएको देखियो, न त गाउँकै ।’ ती प्राध्यापकले ‘अझै पनि सैद्धान्तिक जगमा पार्टी विकासको समय नसकिएको’ भन्दै भट्टराईको ‘यो ट्याक्टिसको भविष्य नभएको’ समेत ठोकुवा गरे । ‘उहाँ विकल्प होइन, ट्याक्टिक्सको मात्रै राजनीति गर्नु खोज्दै हुनुहुन्छ भन्ने चुनावका क्रममा नयाँ शक्तिको प्रस्तुतिबाटै स्पष्ट हुन्छ,’ ती प्राध्यापकले थपे, ‘जनताले न त पुराना पार्टीहरूको तालमेल अभ्यासलाई अनुमोदन गरे, न त नयाँ शक्तिको शैलीलाई । साझा र विवेकशीलको मत नयाँ शक्तिको तुलनामा बढी देखिए पनि १० हजार मत नपुग्दासम्म त्यसलाई पनि उल्लेख्य मान्न सकिन्न ।’ उनले चुनावमा हारजित स्वाभाविक भए पनि केही वर्षअघिसम्म पहिलो ठूलो दलको प्रधानमन्त्री चलाइसकेका भट्टराई यति कमजोर देखिनु स्वाभाविक नभएको भन्दै नयाँ शक्ति नेतृत्वले एजेन्डा र रणनीतिबारे आत्मसमीक्षा गर्नुपर्ने औंल्याए ।
भट्टराईले भने पहिलो चरणको चुनावमा उल्लेख्य मत नपाए पनि दोस्रो चरणको चुनावमा नतिजा सुधारिने दाबी गरे । उनले संघ र प्रदेश चुनावका लागि नयाँ शक्तिले आक्रामक र प्रभावकारी रणनीति बनाउने पनि बताए । ‘हामी सत्ताको दौडमा सहभागी हुन तत्कालै जसरी पनि चुनाव जित्ने मनसायमा छैनौं, बरु वैकल्पिक शक्ति बनाएरै छाड्ने अभियानमा जनतालाई बुझाउने क्रम चलिरहन्छ,’ उनले भने, ‘त्यसका लागि दोस्रो चरणको स्थानीय चुनावसँगै यसपछिका दुई तहका अरू चुनावलाई हामी जनतामा जाने माध्यमका रूपमा उपयोग गर्नु चाहन्छौं ।’ उपेन्द्र यादव नेतृत्वको फोरमसँग पार्टी एकता प्रयास गरिरहेका भट्टराईले मुद्दा मिल्नेहरूसँग आगामी चुनावमा तालमेल गर्ने जानकारी दिए । २०७२ असोजमा संविधान जारी हुनेबित्तिकै माओवादी त्यागेका भट्टराईले त्यसै वर्ष मंसिरमा नयाँ शक्ति घोषणा गरेका थिए । २०७३ जेठमा पार्टी स्थापना घोषणा भए पनि समृद्धि एजेन्डा र सामुदायिक क्लस्टर पक्षधरहरूको वैचारिक तानातान र नेतृत्वको आन्तरिक असन्तुष्टिबीचबाट उनी गुज्रिइरहेका छन् । पहिलो चरणको स्थानीय चुनावका हालसम्मका चुनावी मत परिणामले उनी थप कमजोर बन्ने संकेत गरेका छन् ।
0 comments:
Post a Comment