Top Ad 728x90

Monday, February 13, 2017

जन्म पुरुष कर्म महिला :



माघ १६, २०७३-
माघ १९ गतेदेखि २३ गतेसम्म भारतको मुम्बईमा सञ्चालन हुने ल्याक्मे फेसन विक— २०१७ मा छनोट भएपछि नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामा अहिले चर्चामा छिन् । भारतमा मात्र होइन, विश्वभरका मिडियामा यतिबेला अञ्जलीको चर्चा चुलिएको छ । ल्याक्मे फेसन विकको उत्कृष्ट पाँचमा पर्न सफल भएपछि उनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत राम्रो स्थान दिन थालेका छन् । अग्लो कद, खिरिलो शरीर तथा सुन्दर अनुहारकी लामा पुरुषबाट महिला बनेकी हुन् भन्ने कुरा थोरैलाई मात्र विश्वास लाग्छ । नेपाली मोडलिङमा स्थापित भैसकेकी अञ्जलीले मोडलिङ प्रारम्भ गर्ने क्रममा सुपर मोडल बन्ने उद्देश्य लिएको बताएकी थिइन् । फेसन विकको सहभागिताले उनलाई त्यो मार्गमा अघि बढ्न प्रेरित गरेको छ । फेसन विकका तीनवटा चरणमार्फत दर्जनौं मोडललाई पछि पार्न सफल हुँदै अञ्जली उत्कृष्ट पाँचमा पुग्न सफल भएकी हुन् । अञ्जलीका बारेमा अमेरिकाको प्रसिद्ध म्याग्जिन द वासिङ्टन पोस्टले एउटा विशेष सामग्री तयार पारेको थियो । उक्त सामग्रीको सम्पादित अंश :

अञ्जली लामा काठमाडौंको आफ्नो अपार्टमेन्टमा बसिरहेका बेला नेपाल टेलिभिजनमा कार्यक्रम ‘संघर्ष’ प्रसारण भैरहेको थियो । कार्यक्रममा त्यस्ता व्यक्तिहरूका बारेमा चित्रण भैरहेको थियो, जसले जन्मजातै आफ्नो पहिचान (महिला अथवा पुरुष) पाएका थिएनन् । ‘मैले त्यसै दिन थाहा पाएँ, अञ्जली भन्छिन्— ‘म पनि त्यही जन्मजात पहिचान नपाएको व्यक्ति हुँ ।’‘नुवाकोटको एउटा गाउँमा गरिब परिवारमा जन्मिएको मलाई ट्रान्स जेन्डरका बारेमा कुनै जानकारी थिएन र म त्यसको कल्पनाभन्दा बाहिर थिएँ, अञ्जली भन्छिन्— ‘तर जहिलेदेखि ममा स्मरणशक्तिको विकास भयो, त्यही दिनदेखि मैले युवती बन्न चाहेँ ।’

नवीन वाइबाको नामबाट पुरुषका रूपमा जन्मिएकी अञ्जलीले आफ्नो बाल्यकाल प्राय: बालिकाहरूसँगै बिताइन् । बुवा र दाजुभाइको तुलनामा आमा तथा दिदीबहिनीसँग नजिक भइन् । उनका शिक्षकहरूले उनलाई उनको बानी–बेहोराका बारेमा प्रश्न सोधिरहन्थे भने सहपाठीहरूले उनको हिँडाइ तथा बोलाइ केटीको जस्तो छ भनेर जिस्क्याइरहन्थे । उनी जति–जति केटाको जस्तो व्यवहार देखाउने प्रयास गर्थिन्, उति–उति असफल हुन्थिन् । वर्षौंपछि, एउटा गाउँको कसैले नबुझेको त्यही स्कुले केटा अहिले अन्तर्राष्ट्रिय सुपरमोडलका रूपमा परिवर्तन भएको छ, जसले आफ्नो आत्मविश्वासी प्रस्तुति, अग्लो कद तथा आकर्षक व्यक्तित्वले ठूलो भीडलाई प्रभावित तुल्याइरहेको छ ।



३२ वर्षीया अञ्जली भारतकै प्रतिष्ठित फेसन इभेन्ट्स लेक्मे फेसन विकमा पहिलो ट्रान्सजेन्डर मोडलका रूपमा र्‍याम्पका क्याटवाक गर्दैछिन् । नेपाल तथा भारतमा ट्रान्सजेन्डर समुदायको प्रगतिसँगै केही वर्षदेखि नेपालमा तथा अहिले भारतमा अञ्जलीको स्टारडम चुलिएको छ । नेपालमा गणतन्त्र आएपछि अर्थात् वर्ष २०१५ देखि मात्र तेस्रोलिंगी क्याटागोरीमा पासपोर्ट जारी हुन थाल्यो । यस्तो पासपोर्ट विश्वका निकै कम मुलुकमा मात्र जारी गरिएको छ । भारतमा ट्रान्सजेन्डर व्यक्ति (जसलाई ‘हिजडा’ पनि भनिन्छ) लाई सन् २०१४ मा भारतको सर्वोच्च अदालतले गरेको एउटा निर्णयपछि मात्र तेस्रोलिंगी (न पुरुष न महिला) को पहिचान मिलेको हो ।



ट्रान्सजेन्डरहरूले अहिले जागिर तथा शैक्षिक प्रतिष्ठानमा निश्चित कोटा प्राप्त गर्न थालेका छन् भने बलिउडले समेत उनीहरूलाई स्वागत गर्न थालेको छ । अघिल्लो वर्ष मात्र तेस्रोलिंगीहरूको एउटा ब्यान्डलाई एउटा हिन्दी चलचित्रको गीतमा चित्रण गरिएको थियो । गाउँबाटै एसएलसी उत्तीर्ण गरेपछि अञ्जली गाउँबाट सहर अर्थात् काठमाडौं आइन् । काठमाडौं आएपछि उनले एकपछि अर्को होटलमा काम गरिन् ।



अन्जलीका अनुसार होटलका सहकर्मी तथा ग्राहकहरूले जिस्क्याउन थालेपछि उनलाई एउटै होटलमा लामो समयसम्म काम गर्न गाह्रो हुन्थ्यो । त्यसक्रममा उनलाई त्यस्ता नामबाट सम्बोधन गरिन्थ्यो, जुन उनी अहिले सम्झनसमेत चाहन्नन् । ‘मलाई मानसिक यातना नै दिइन्थ्यो’, अञ्जली सम्झन्छिन् । जति बेला अञ्जली १९ वर्षकी भइन्, एक रात काठमाडौंको सडकमा केही अनौठा दृश्य देखिन् । सोह्र–श्रृंगारले सजिएका ट्रान्सजेन्डर युवतीहरूको एउटा समूह एउटा क्लबतर्फ अघि बढिरहेको थियो । अञ्जलीले त्यो समूहनजिक पुगेर उनीहरूसँग कुराकानी गर्दै आफू पनि उनीहरूजस्तै भएको बताइन् । उनीहरूमध्ये एक जनाले अञ्जलीलाई तेस्रोलिंगीसम्बन्धी काम गर्ने सामाजिक संस्था एलजिबिटी (लेस्बियन, गे, बाइसेक्सुअल अथवा ट्रान्सजेन्डर) को नम्बर दिए । दुई दिनपछि उनी त्यहाँ पुगिन् । सन् २००६ देखि उनी त्यही संस्थामा कर्मचारीका रूपमा काम गर्न थालिन् ।



उक्त संस्थामा केही वर्ष काम गरेपछि साथीभाइ तथा सहकर्मीहरूले अञ्जलीलाई मोडलिङमा करियर बनाउन सल्लाह दिए । वर्ष २००७ मा नेपालको सर्वोच्च अदालतले लैंगिक हकसम्बन्धी अधिकारको पक्षमा निर्णय गर्‍यो । लगत्तै अञ्जलीले एउटा सौन्दर्य प्रतियोगितामा भाग लिइन् । त्यसक्रममा उनले क्याटवाकसहित मोडलिङका बारेमा सामान्य जानकारी हासिल गरिन् । सन् २००९ पछि भने अञ्जलीको मोडलिङ करियरले गति लियो । नेपालको मोडलिङमा स्थापित हुन अञ्जलीले प्रशस्त संघर्ष गर्नुपर्‍यो । नेपालमै आयोजना हुने फेसन विकका लागि तीन भिन्न समयमा दिएको अडिसनमा उनी असफल भएकी थिइन् । ‘त्यतिबेला मलाई लागेको थियो, मैले मोडलिङ गर्नु हुँदैन,’ उनी भन्छिन्— ‘तर मैले तत्काल निर्णय गरें, मैले मोडलिङमै प्रयास गर्नुपर्छ ।’



त्यसैले उनी नेपालभन्दा बाहिरको मोडलिङ तथा फेसन संसारमा आँखा दौडाउन थालिन् । त्यसका लागि सर्वप्रथम उनले भारतकै फेसन उद्योगमा भाग्य परीक्षण गर्ने निर्णय गरिन् । त्यसक्रममा उनले पहिलो पटक एक्लै मुम्बईसम्मको यात्रा गरिन् । मुम्बईमा उनले चिनेजानेको एक जना पनि थिएनन्, न त कुनै प्रकारको सहयोग नै थियो । यद्यपि २०१६ को लेक्मे फेसन विकका लागि अडिसन दिएरै छाडिन् । दुर्भाग्य, उनी अडिसनमा छनोट हुन सकिनन् । दोस्रो वर्ष अर्थात् सन् २०१७ को लेक्मे फेसन विकका लागि उनले पुन: अडिसन दिने निर्णय गरिन् । फेसन विकमा छनोट हुन उनले १ सय जनाभन्दा बढी महिलासँग प्रतिस्पर्धा गर्नुपरेको थियो । यसपटक उनी भाग्यशाली सावित भइन्, अन्जली फेब्रुअरी १ देखि ५ सम्म मुम्बईमा आयोजना हुने फेसन विकका लागि छनोट भइन् । अब उनले फेसन विकका क्रममा भारतका प्रख्यात डिजाइनरहरूले तयार पारेका पहिरन प्रदर्शन गर्नेछिन् ।



अञ्जली जन्मिएर हुर्किएको गाउँका कतिपय मानिसले अझै पनि उनको नयाँ पहिचानलाई बुझ्न सकेका छैनन् । ‘मेरो बुवाले समेत बुझ्नुभएको छैन,’ अञ्जली भन्छिन्— ‘बुवाले मलाई छोरीका रूपमा हेर्न सक्नु हुनेछैन ।’ सन् २०१० मा यो संसारबाट बिदा भएकी उनकी आमा तथा उनका केही नातेदारले मात्र अञ्जली पुरुषबाट महिलामा रूपान्तरण भएको वास्तविकतालाई साथ दिएका छन् । ‘मैले अझै धेरै अन्तर्राष्ट्रिय फेसन शोहरूमा वाक गर्ने सपना देखेकी छु,’ अञ्जली भन्छिन्— ‘जसबाट म आफ्नो सेक्स–चेञ्ज अपरेसन पूरा गर्न सक्नेछु ।’ उनले सन् २०१० मा स्तन प्रत्यारोपण गरेकी थिइन्, तर अझै कतिपय अंग प्रत्यारोपण गर्नुछ ।



के भन्छिन् अञ्जली ?

ट्रान्सजेन्डर मोडल अञ्जली लामा यो साता लेक्मे फेसन विकको ग्रान्ड ओपनिङमा सहभागी भइन् । उक्त फेसन विकको उद्घाटन पहिलो पटक क्रुजमा गरिएको अञ्जलीले मुम्बईबाट साप्ताहिकलाई जानकारी दिइन् । फेसन विकका हरेक शोमा अञ्जलीले क्याटवाक गर्नुपर्नेछ । शोको पहिलो दिन उनले डिजाइनर मोनिषा जय सिंहद्वारा डिजाइन गरिएका पहिरन प्रदर्शन गर्नेछिन् । भारतीयका साथै युरोपियन मोडलहरूले पनि क्याटवाक गर्ने उक्त फेसन विकमा मोडलका रूपमा सहभागी हुने पहिलो ट्रान्सजेन्डर मोडल हुन् अन्जली । ग्रान्ड ओपनिङको पूर्वसन्ध्यामा साप्ताहिकले अञ्जलीसँग गरेको कुराकानीको सम्पादित अंश :



लेक्मी फेसन विकमा आफ्नो छनोटलाई कसरी इन्जोय गर्नुभएको छ ?
गत डिसेम्बर १४ का दिन सम्पन्न अडिसनबाट लेक्मे फेसन विकमा छनोट भएको दिनदेखि आजसम्म एकप्रकारको सेलिब्रेसनमा रमाइरहेकी छु । त्यो दिन मेरो जीवनकै सबैभन्दा खुसीको क्षण थियो । म यति खुसी भएँ कि आजसम्म त्यति खुसी कहिल्लै भएकी थिइन् ।



आफू छनोट भएको थाहा पाउने बित्तिकै के गर्नुभयो ?

सबैभन्दा पहिले आमालाई सम्झिएँ । आज उहाँ यो धर्तीमा हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला भन्ने सम्झेर भावुक पनि भएँ । मलाई अति नै सहयोग गर्ने मेरो एक जना दाजु हुनुहुन्छ, उहाँलाई फोन गरेर आफ्नो खुसी साटें । साँझ घर फर्किएपछि ऐना अगाडि आफैंलाई हेरें । मलाई त सपना जस्तो लागिरहेको थियो ।



पछिल्लो एक महिनाचाहिँ के–के गर्नुभयो ?

म मुम्बईको सान्ताक्रुजमा साथीको घरमा बसेकी छु । अडिसनमा छनोट भएको दोस्रो दिनदेखि मेरो अधिकांश समय भारतीय साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिँदैमा बितेको छ । अझै पनि अन्तर्वार्ता दिने क्रम जारी छ । यसबाहेक फेसन विकका लागि डिजाइनरहरूसँग छलफल गरें, मेजरमेन्ट दिएँ ।



अघिल्लो पटक छनोट हुनु भएन, यसपटक छनोट हुन कत्तिको मेहनत गर्नुभएको थियो ?

मैले यो वर्षको फेसन विकका लागि विशेष ध्यान दिएकी थिएँ । काठमाडौंको सबै काम छाडेर म गत नोभेम्बर महिनामा मुम्बई आएँ । करिब एक महिनासम्म मैले विभिन्न मोडलिङ एजेन्सीलाई आवेदन दिँदैमा बिताए । कतैबाट कुनै रेस्पोन्स नआएपछि म केही निराश पनि भएँ । अचानक २०१७ को लेक्मी फेसन विकका लागि अडिसन खुला भएको जानकारी पाएँ ।



अघिल्लो पटक असफल भए पनि यसपटक सफल भएरै छाड्छु भन्ने दृढ संकल्प लिएर आवेदन दिएँ । अडिसनका क्रममा अघिल्लो वर्षको भन्दा बृहत् तयारी गरेकी थिएँ । अघिल्लो वर्षको अडिसनका सबै भिडियो हेरें । उक्त अडिसनमा सफल भएका मोडलहरूको प्रस्तुति पनि हेरें । ती सबै कुरा अध्ययन गरेपछि यसपटक मैले निर्णायकहरूलाई प्रभावित गर्ने धेरै कुरा प्रस्तुत गरें ।



निर्णायकहरू को–को थिए ?
उहाँहरू छ जना हुनुहुन्थ्यो, त्यसमध्ये अनु अहुजा, पूजा हेगडे तथा पूर्णिमा लाम्बालाई मैले चिनें । बाँकी तीन जनालाई मैले पहिलो पटक देखेकी हुँ । उहाँहरू फेसन, हेयर एवं ब्युटी उद्योगसँग सम्बन्धित हुनुहुन्थ्यो ।



अघिल्लो पटक के कुराको कमी भएको रहेछ ?
अघिल्लो वर्ष ममा आत्मविश्वासको कमी थियो । मेरो क्याटवाकमा पनि समस्या थियो ।



अन्तर्राष्ट्रिय मिडियाहरूले तपाईंको कुन कुरालाई महत्व दिए जस्तो लाग्यो ?

उनीहरूले म नेपालको एउटा गाउँबाट आएकी व्यक्ति कसरी सुपरमोडलको यात्रामा अघि बढ्न सफल भएँ भन्ने कुरालाई महत्व दिए । त्यसबाहेक ट्रान्सजेन्डर मोडल हुनु पनि उनीहरूको कौतुहलताको विषय बन्यो ।



फेसन विकको पहिलो दिन कस्तो होला भन्ने अनुमान गर्नुभएको छ ?
मोडलका रूपमा त एउटा फेसन शो अन्य शोजस्तै सामान्य नै हुन्छ भन्ने अनुमान छ तर मेरो पहिलो अन्तर्राष्ट्रिय र्‍याम्प भएकाले त्यो मेरा लागि विशेष हुने निश्चित छ । आगामी बुधबारका लागि म अति नै उत्साहित छु । म त्यो दिनको प्रतीक्षा गरिरहेकी छु ।



फेसन विकपछि तपाईंको यात्रा कसरी अघि बढ्नेछ ?

फेसन विकमा सहभागितापछि मेरो मोडलिङ यात्राले उचाइ लिने निश्चित छ । यद्यपि म पुन: नेपाल गएर संघर्ष गर्ने पक्षमा छैन । म मुम्बईमै रहेर अन्तर्राष्ट्रिय स्तरका फेसन शोहरूमा काम गर्न चाहन्छु । विज्ञापनहरूबाट प्रस्ताव आउन सक्छन्, त्यसमा सहभागी हुनेछु । बलिउडका चलचित्रबाट पनि प्रस्ताव आउने सम्भावना छ तर म तत्काल चलचित्रमा काम गर्ने योजनामा छैन ।



अञ्जलीका बारेमा को के भन्छन् ?



अञ्जली लामाको प्रारम्भिक चरणको मोडलिङ करियरमा मैले पनि सहयोग गरेको हुँ । नेपालमा ट्रान्स जेन्डर मोडलहरूलाई फेसन शो तथा मोडलिङहरूमा स्थान दिनुपर्छ भन्ने भनाइ मेरो पनि थियो । अञ्जलीको कडा मेहनत, उनको अग्लो कद तथा मोडलका रूपमा केही गर्छु भन्ने भावनाको म कदर गर्छु । यिनै गुणका कारण उनी आज भारतको प्रतिष्ठित लेक्मी फेसन विकमा छनोट हुन सफल भएकी हुन् । अब उनको मोडलिङ करियरले अन्तर्राष्ट्रिय उचाइ प्राप्त गर्ने निश्चित छ । अञ्जलीले अझ अगाडि बढ्दै नेपाल तथा नेपालीको नाम राख्दै जाऊन् भन्ने कामना छ ।
माल्भिका सुब्बा, मिस नेपाल–२००२



भिकेज पाञ्चासे रनवे तथा ट्रान्सजेन्डर मोडलका रूपमा लेक्मी फेसन विकमा सहभागी हुने अञ्जली पहिलो अनुहार भएकी छिन् । म उनीप्रति मनैदेखि गर्व गरिरहेको छु । मैले यसलाई नेपाली मोडलिङले पाएको एउटा ठूलो उपलब्धिका रूपमा लिएको छु । मैले केही वर्षअघि नै उनको प्रतिभाको पहिचान गरिसकेको थिएँ । मलाई थाहा थियो मेरो ‘इगल आइ’ ले कहिल्लै गलत कुरामा नजर लगाउँदैन ।
विशाल कपुर, फेसन डिजाइनर



पहिलो नजरमै अञ्जली लामा भविष्यमा सफल र्‍याम्प मोडल बन्न सक्छिन् भन्ने लागेको थियो । उनको आकर्षक उचाइ तथा मोडलिङमा केही गर्छु भन्ने आत्मविश्वासका कारण मैले उनलाई र्‍याम्प मोडलिङको प्रशिक्षण लिँदा राम्रो हुन्छ भन्ने सल्लाह दिएकी थिएँ । फलस्वरूप उनले दि र्‍याम्प फेसन एन्ड मोडलिङ एजेन्सीबाट प्रशिक्षण लिइन् । प्रशिक्षणपछि मैले उनलाई पोर्टफोलियोका लागि फोटोसेसन गर्ने सल्लाह दिएँ । उनले फोटोसेसन गरेर आफ्ना तस्बिर मलाई बुझाइन् । मैले उनका तस्बिर धेरै ठाउँमा पठाएकी थिएँ ।



फेसन सोका लागि मैले पठाउने मोडलहरूमा अञ्जली मात्र रिजेक्ट हुन्थिन् । कतै पनि छनोट नहुँदा उनी निराश थिइन्, म भने उनलाई सम्झाइरहन्थें । याक एन्ड यति होटलमा सिर्जना सिंह योञ्जनद्वारा आयोजित फेसन शोमा उनले पहिलो ब्रेक पाएकी थिइन् । निरन्तरको मेहनतले उनी आज भारतको सबैभन्दा ठूलो फेसन शो लेक्मी फेसन विकमा नेपालकै पहिलो तेस्रोलिंगी मोडलका रूपमा छनोट भएको कुराले म असाध्यै खुसी छु । नेपालको ठूलो फेसन शोमा तीन पटक अडिसन दिँदा पनि छनोटमा नपरेकी अञ्जली आज भारतकै ठूलो फेसन सप्ताहमा सुपरमोडलका रूपमा प्रस्तुत भैरहेकी छिन् ।
जयन सुब्बा मानन्धर, कोरियोग्राफर/सञ्चारकर्मी



अञ्जली लामा सबैभन्दा बढी सन्तुष्ट भएको फोटोसेसन गर्ने श्रेय मैले नै पाएको छु । मैले खिचेका उनका तस्बिर सञ्चारमाध्यमका साथै डिजाइनर विशाल कपुरद्वारा प्रकाशित वर्ष २०१७ को क्यालेन्डरमा समेत प्रकाशित भएको छ । अग्लो कद तथा छरितो शरीरका कारण अञ्जली वास्तवमै सुपर मोडल बन्ने खुबी भएकी मोडल हुन् । आज लेक्मी फेसन विकमा छनोट भएर अञ्जलीले नेपालकै नाम राखेकी छिन् । उनले नेपाली मोडलिङलाई नै उचाइमा पुर्‍याएकी छिन् । लामाको यो सफलताप्रति म व्यक्तिगत रुपमा समेत हर्षित छु ।
गौतम धिमाल, फोटोग्राफर



अञ्जलीलाई चिनेको २००८ देखि हो । प्रारम्भिक मोडलिङ क्यारियरमा उनलाई ग्रुमिङ गर्नेमध्येमा म पनि पर्छु । द र्‍याम्प मोडलिङ एजेन्सीमा र्‍याम्प मोडलिङको व्यवसायिक प्रशिक्षण दिने क्रममा म प्रशिक्षक तथा उनी प्रशिक्षार्थी थिइन् । नमुना कलेजको आठौं ग्राजुएसन फेसन शोमा मेरै कोरियोग्राफीमा उनले मोडलका रूपमा काम गरिन् । उक्त फेसन शोमा उनले एक मुख्य मोडलका रूपमा काम गरेकी थिइन् । आजको अवस्थासम्म आइपुग्दा उनको प्रस्तुति निकै प्रभावकारी भैसकेको छ । अग्लो कद, स्लिम फिगर, आत्मविश्वास तथा चुनौतीलाई सामना गर्ने आँट र त्यसमा विजय प्राप्त गर्ने चाहनाले आज उनलाई यो स्थानसम्म पुर्‍याएको हो ।



प्रारम्भदेखि अहिलेसम्ममा उनको स्वभाविक परिवर्तन व्यवसायिक रूपमा देख्न पाइए पनि व्यक्तिगत रूपमा उनी अझै पनि उत्तिकै सरल, स्वभाविक तथा डाउन टु अर्थ छिन् । यो पनि उनको सफलताको एउटा प्रमुख कारण हो । र्‍याम्पमा हिँड्दा आफ्नो प्रस्तुतिसँगै आफूले लगाएको पहिरन र डिजाइनरको सिर्जनाप्रति न्याय गर्न सक्नु अनि त्यसमा आफ्नो प्रभावकारिता देखाउनु उनको विशेषता हो ।
रोजिन शाक्या, कोरियोग्राफर/सञ्चारकर्मी

तस्विरहरु : एजेन्सी


Source : Ekantipur                                                                                          www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90