Top Ad 728x90

Wednesday, February 8, 2017

, , , , , ,

उपत्यकाको धूलो कसरी घटाउने ?


उपत्यकाका सडकमा व्याप्त धूलोबीच यात्रारत सर्वसाधारण ।तस्बिर : कान्तिपुर




माघ २७, २०७३- महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ बुधबार कार्यकक्षमा कर्मचारीसँग उपत्यकाको धूलो न्यूनीकरणबारे छलफल गर्दै थिए । करिब २ घण्टाको छलफलले न्यूनीकरणका विभिन्न उपाय निकाल्यो । धूलो पूरै हटाउने विषयमा भने ठोस उपाय पत्ता लाग्न सकेन ।

‘सामान्य समाधान निकाल्न सकिन्छ तर पूरै न्यूनीकरणका लागि उपाय पत्ता नलाएसम्म धूलो घटदैन,’ कान्तिपुरसँग तामाङले भने, ‘उपत्यकाको एकीकृत विकासका लागि अधिकार सम्पन्न निकाय चाहिन्छ ।’

ढल व्यवस्थापन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), मुख्य सडकको व्यवस्थापन सडक विभाग र सहायक सडक व्यवस्थापन स्थानीय निकायको जिम्मेवारी भएकाले एकीकृत रूपमा विकास गर्न गाह्रो हुने कार्यकारी अधिकृत तामाङले बताए । उनले उपत्यकाको खानेपानी, बिजुली, ढल, सडक व्यवस्थापनका लागि अधिकार सम्पन्न निकाय गठन गरेर त्यसलाई सम्पूर्ण जिम्मेवारी दिनुपर्ने बताए ।

‘सडकले आफ्नो कार्यतालिकाअनुसार कालोपत्रे गर्छ, केयूकेएलले आफ्नै कार्यतालिकाअनुसार खानेपानी पाइप तथा ढल व्यवस्थापनका लागि खन्छ, दुई निकायबीच समन्वय नै हुन सकिरहेको छैन, अनि कसरी हुन्छ धूलो न्यूनीकरण ?’ उनले भने, ‘अब नयाँ अवधारणाअनुसार उपत्यका यातायात, बिजुली, खानेपानी, सडकलगायतको व्यवस्थापन गर्ने जिम्मा एउटै निकायलाई दिनुपर्छ ।’

तत्काल समाधानका लागि पानीले सडक पखाल्ने, ‘बु्रमर’ ले धूलो बढार्ने र सडकलाई तत्काल कालोपत्रे गर्नेबाहेक अरू विकल्प नरहेको कार्यकारी अधिकृत तामाङ बताउँछन् । मेलम्ची खानेपानी विकास समितिअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले खनेको स्थानमा तत्काल कालोपत्रे गर्नुपर्ने उनले बताए । भत्काइएको स्थानमा सडक विस्तार र कालोपत्रे गर्न टेन्डर आहवान गरिसकेको आयोजना निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए ।

‘मुख्य सहरमा पाइप लाइन बिछ्याउन मुख्य र सहायक सडक खनेका छौं, धूलो पनि उडेको छ,’ उनले भने, ‘फागुन पहिलो सातादेखि खनिएको सम्पूर्ण सडकमा कालोपत्रे गरिन्छ ।’ उनका अनुसार अहिले कालोपत्रे गर्दा चिसोले राम्रो हँुदैन । ८ मिटरभन्दा बढी चौडा सडक विभाग र त्यसभन्दा कम चौडा सडक आयोजनाले कालोपत्र गर्ने उनले जानकारी दिए । सडक विभागले मुख्य र नगरपालिकाले सहायक सडक कालोपत्रे गर्ने जिम्मेवारी बहन गर्दै आएको उनले जानकारी दिए । तर, पाइप लाइनका लागि सहायक सडक भत्काएपछि कालोपत्रे गर्ने सम्पूर्ण जिम्मेवारी आयोजनाले लिएको छ ।

अर्थ मन्त्रालयले मुख्य सडक कालोपत्र गर्न ८५ करोड रुपैयाँभन्दा बढी र सहायक सडकका लागि आयोजनाले १ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी उनले दिए । खनेको माटोले उपत्यकाको वातावरण धुलाम्मे भएपछि केही सडकमा अस्थायी रूपमा बालुवा र रोडा राख्ने काम गरिएको उनले बताए ।

‘कोटेश्वर–माइतीघर मण्डला, कोटेश्वर–एयरपोर्ट, नयाँ बानेश्वर लगायतका क्षेत्रमा धूलो उड्न नदिने सामग्री राखेका छौं,’ उनले भने, ‘अब केही दिनभित्रै खनेको क्षेत्रमा मात्र होइन, सडकको पूरै भाग कालोपत्रे गर्छौं ।’ लैनचौर–लाजिम्पाट ३ सय मिटर, ढोलाहिटी क्षेत्र १ किमि सडक कालोपत्रे सुरु गरिने उनले बताए । उपत्यका कुल सडकको लम्बाई १५ सय किमि छ, त्यसमध्ये ८ सयभन्दा बढी सडक विस्तार र पाइप लाइन बिछ्याउन भत्काइएको छ ।

२ सय किमि सडक विभाग र ६ सय किमिभन्दा बढी आयोजनाले पाइप बिछ्याउनका लागि भत्काएको हो । निर्देशनालय प्रमुख खत्रीले पाइप बिछ्याउन खनिएको सडकको माटोले मात्र उपत्यका धुलाम्मे नभएको बताए । ‘गल्ली विस्तारका लागि भत्काइएका छन् । उपत्यकाको प्रवेश नाका सडक पूरै विस्तार भइरहेका छन् । तिनमा गुडेका गाडीको चक्कामा लागेर धूलो सडकमा आउँछ,’ उनले भने, ‘अब सबै निकायले पानीको ट्यांकरबाट भए पनि सडकको धूलो पखाल्नुपर्छ ।’

सडक विभागका प्रवक्ता दयाकान्त झाले राजधानीका सडक कालोपत्रे हुनेबित्तिकै धूलोको समस्या हट्ने बताए । कलंकी–नागढुंगा ६ किमि सडकमा बिजुलीका खम्बा हटाउने काम भइरहेकाले केही दिनभित्रै कालोपत्रे गरिने बताए । त्रिपुरेश्वरदेखि कलंकीसम्मको करिब ५ किमि सडकको विस्तार कार्य सर्वोच्च अदालतको अन्तरिम आदेशले रोकिएको छ । सर्वोच्चले अर्को आदेश नआएसम्म त्यहाँ केही गर्न नसकिने प्रवक्ता झाले बताए ।

उनका अनुसार साँखु–चाबहिल ११ किमि सडक खण्डमा पनि अदालतकै आदेशले घर भत्काउन सकिएको छैन । ठेकेदारलाई भित्री सडक तत्काल कालोपत्रे गर्न निर्देशन दिइसकिएको पनि उनले बताए । पानीले सडक पखाल्न भने सम्भव नभएको उनको भनाइ छ ।

भूकम्पले भत्काएका निजी तथा सार्वजनिक भौतिक संरचनाको पुनर्निर्माण कार्य तीव्र रूपमा बढाउनुपर्ने उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले बताए । उपत्यकाको एकीकृत विकास गर्ने प्राधिकरणलाई जिम्मेवारी भए पनि कर्मचारी अभावमा केही गर्न नसकेको उनले बताए ।

‘काम गर भन्ने, कर्मचारी पदपूर्ति नगर्ने अनि कसरी विकासको काम अघि बढ्छ ?’ उनले भने, ‘धूलो हटाउने जिम्मा होस् वा अन्य, सबै एउटै निकायलाई जिम्मेवारी दिनुपर्छ ।’ तर, तत्कालका लागि सडकमा पानी छर्केर धूलोको समस्या समाधान गर्न सकिने उनले बताए ।





प्रकाशित: माघ २७, २०७३

कान्तिपुर

0 comments:

Post a Comment

Top Ad 728x90