Top Ad 728x90

Sunday, February 12, 2017

सबैको सहयोग लिएर अगाडि बढ्ने छु : श्रेष्ठ



फाल्गुन १, २०७३- सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का एआईजी सिंहबहादुर श्रेष्ठलाई महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ ।






- जगदीश्वर पाण्डे, काठमाडौं
फाल्गुन १, २०७३- सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का एआईजी सिंहबहादुर श्रेष्ठलाई महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले एआईजी श्रेष्ठलाई एपीएफको नेतृत्व सुम्पेको हो । श्रेष्ठले २०७४ चैत २९ सम्म सशस्त्रलाई हाँक्नेछन् ।

‘मैले पाएको जिम्मेवारीलाई संगठनभित्र र बाहिर सबैको सहयोग लिएर सफलतापूर्वक निर्वाह गर्नेछु,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘देश, जनता र संगठनको हितमा भएका ऐन, नियमलाई पालना गर्दै काम गर्नेछु ।’

आईजीपी दुर्जकुमार राईको ३० वर्षे सेवा अवधि फागुनमा ३ मा सकिने भएपछि सरकारले श्रेष्ठलाई सोही दिनदेखि लागू हुने गरी सशस्त्रको सबभन्दा महत्त्वपूर्ण जिम्मेवारी दिएको हो । श्रेष्ठसँगै एआईजी रहेका कृष्णकुमार तामाङ र जितबहादुर पुन पनि आईजीपी राईसँगै फागुन ३ मै अवकाश पाउनेछन् । अन्य दुई प्रतिस्पर्धी एआईजीहरू प्रेमकुमार शाही र प्रकाश ओझामा पनि आईजीपी नियुक्तिको दौडमा रहेका थिए ।

नवनियुक्त आईजीपी श्रेष्ठले नेतृत्व हस्तान्तरण संगठनको नियमित प्रक्रिया भएको उल्लेख गर्दै भने, ‘व्यक्तिगत काम गर्ने तरिकाले नेतृत्व परिवर्तन हुँदा केही फरक चाहिं पार्नेछ । संगठनलाई देश र जनताको हितमा काम गर्न र गराउन मेरो पहल सधैं भइरहनेछ ।’

काठमाडौं डिल्लीबजारमा २०१९ साल फागुन १५ मा जन्मिएका श्रेष्ठले २०४४ साल चैत २९ मा प्रहरी निरीक्षकबाट सेवा सुरक्षा निकायमा आफ्नो यात्रा थालेका थिए । देशमा बढो माओवादी द्वन्द्वका कारण सरकारले गठन गरेको सशस्त्र प्रहरी बलमा श्रेष्ठ २०५८ वैशाख ४ मा स्थानान्तरण भए । त्यस बेला नेपाल सेना र नेपाल प्रहरी दुवैबाट जानेलाई एपीएफमा एक पद माथि दिइएको थियो । श्रेष्ठ प्रहरी नायब उपरीक्षकबाट सशस्त्रमा प्रहरी उपरीक्षकमा बढुवा भएर आएका थिए ।

चीनबाट नेसनल डिफेन्स कोर्स गरेका श्रेष्ठले राष्ट्रसंघको शान्ति मिसनमा इस्ट टिमोर र पूर्वयुगोस्लाभियामा काम गरेका छन् । उनले अमेरिका, श्रीलंका, अमेरिका, इटाली, चीनलगायतका देशमा तालिम लिएका छन् । उनले सशस्त्रको प्रधान कार्यालयको प्रशासन विभाग, मानव स्रोत विकास विभाग, कार्य विभाग, सशस्त्र प्रहरी प्रधान कार्यालय मद्दती तथा सेवा निर्देशनालय, सुरक्षा महाशाखालगायत संगठनका बाहिनी, गणहरूको नेतृत्व गरिसकेका छन् । सरकारको नीतिअनुसार आफ्नो संगठनले शान्ति मिसनमा भाग लिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उल्लेख गरे ।





Source : Ekantipur

प्रकाशित: फाल्गुन १, २०७३                                                                              www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90