Top Ad 728x90

Monday, February 13, 2017

पूर्वएआईजी भण्डारीसहितलाई अख्तियारबाट सफाई

एमाले नेता विजय पौडेलमाथिको छानबिन पनि टुंगिएको छ । कार्कीले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीलगायत २९ जनामाथि एकसाथ छानबिन थालेका थिए । त्यसैगरी पूर्वमन्त्री टेकबहादुर थापा घर्तीको फाइल पनि कार्कीको बहिर्गमनपछि अख्तियारले तामेलीमा पठाइसकेको छ । 

अख्तियारका निवर्तमान प्रमुख लाेकमानसिंह कार्की । फाईल तस्बिर : कान्तिपुर ।


























कान्तिपुर संवाददाता, काठमाडौं
फाल्गुन ३, २०७३- आफूसँग फरक मत राख्ने र निर्देशन नमान्ने कर्मचारीमाथि अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले थालेको छानबिन धमाधम असफल हुँदै गएका छन् । कार्कीको बहिर्गमनपछि हालसम्म पाँच जनाको सम्पत्ति छानबिन तामेलीमा गइसकेको छ । अन्य व्यक्तिहरूमाथिको छानबिनसमेत किनारा लाग्ने क्रममा छ । 

कार्कीको निर्देशन पालना नगर्दा सम्पत्ति छानबिनमा परेका नेपाल प्रहरीका निवर्तमान अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीको सम्पत्ति छानबिन गत सातामात्रै टुंगिएको छ । उनको अवैध आर्जन नदेखिएको निष्कर्षसहित अख्तियारले छानबिन टुंग्याएको हो । १३ पाने फाराम भराएर कार्कीले उनीमाथि अनुसन्धान थाल्न निर्देशन दिएका थिए । यसअघि पनि उनीमाथि अख्तियारले दुई वर्षको बीचमा तीनपटक सम्पत्ति छानबिन गरेर केही नभेटेपछि फाइल तामेलीमा राखिसकेको थियो ।

पछिल्लो संविधानसभा निर्वाचनलगत्तै नेपाल प्रहरीले प्रचलित बजार मूल्यभन्दा बढीमा हतियार खरिदको तयारी गर्दा भण्डारीले त्यसको विरोध गरेका थिए । तत्कालीन अख्तियार प्रमुख कार्कीको अस्वभाविक चासो जोडिएको हतियार खरिद प्रकरणमा एआईजी भण्डारीले बजार मूल्यभन्दा बढीमा किन्न नहुने अडान लिएपछि अख्तियारले उनीमाथि दोस्रोपटक छानबिन थालेको थियो । ‘इमानदार कर्मचारीहरूको वृत्तिविकास प्रभावित पार्ने उद्देश्यले योजनाबद्ध ढंगले छानबिन गरिएको हो,’ सोमबार अवकाश पाएका भण्डारीले आयोगमा आफूले दिएको बयान उद्धृत गर्दै कान्तिपुरसित भने, ‘आयोगका यस्ता क्रियाकलापले निष्ठापूर्वक काम गर्ने कर्मचारीमा विचलन नआउला भन्न सकिन्न । यसतर्फ आयोग सतर्क हुनुपर्छ ।’ पदोन्नति र वृत्तिविकासको अवसर आउँदा अख्तियारले हरेकपटक आफूमाथि पूर्वाग्रही छानबिन गरेको उनले बताए ।

कार्की नियुक्तिको विरोधमा तत्कालीन राष्ट्रपति रामवरण यादवलाई ज्ञापनपत्र बुझाउन जाने टोलीमा अधिवक्ता टीकाराम भट्टराई पनि थिए । आफ्ना विरोधीहरूको सूची बनाएका कार्कीले सोझै अधिवक्ता भट्टराईलाई छानबिनमा तान्न त सकेनन्, तर उनीमाथि निगरानी गर्ने क्रम जारी राखे । त्यसक्रममा भट्टराईकी पत्नी इन्दिरा दाहाल कानुन तथा संसदीय मामिला मन्त्रालयमा सह(सचिव रहेको थाहा पाएपछि कार्कीले गैरकानुनी सम्पत्ति आर्जनको फर्जी उजुरीमार्फत भट्टराई परिवारलाई आतंकित पार्ने रणनीति लिए ।

कार्कीले दाहालसँगै भट्टराईलाई समेत बयानका लागि पत्र काटेर पक्राउ गर्ने तयारी गरेका थिए । उनीमाथिको छानबिन पनि केही साताअघि टुंगिएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाको फर्ममा कार्कीको आदेशबाट राजस्व अनुसन्धान विभागले छापा मारेको केही दिनपछि कानुन मन्त्रालयकी सहसचिव दाहालमाथि कार्कीले १३ पाने सम्पत्ति विवरण भर्न लगाए । लामो समय छानबिनको फाइल त्यत्तिकै राखेका कार्कीले आफ्नो योग्यताको मुद्दा सर्वोच्चले पुनरावलोकन हुने आदेश दिएपछि एकाएक अधिवक्ता भट्टराईमाथि पनि छानबिन थाले ।

कार्कीको आदेशमा अख्तियारले ‘तपाईंको सम्पत्ति विवरणबारे बुझ्नुपर्ने भएकाले ७ दिनभित्र उपस्थित हुनुहोला’ भन्दै भट्टराईलाई पत्र काटेको थियो । तर उनले अख्तियारमा हाजिर हुन नजाने अडान लिए । ‘जसरी हुन्छ झूटो अभियोग लगाएर मलाई पक्राउ गर्ने र अदालतमा बहस गर्न नजाओस् भन्ने कार्कीको अभिप्राय थियो,’ भट्टराईले कान्तिपुरसित भने, ‘बरु पक्राउ गरोस् तर म बयान दिन जान्न भनेपछि कार्की हच्किएका हुन् ।’ त्यसपछि कार्कीले विभिन्न उच्च सरकारी तथा प्रहरी अधिकारीहरूमार्फत शम्भु थापा र ओमप्रकाश अर्यालको मुद्दामा बहस नगर्न र आफ्नो सार्वजनिक आलोचना नगर्न चेतावनी दिइरहे ।

खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा स्वास्थ्य तथा स्थानीय विकासमन्त्री रहेका विद्याधर मल्लिकमाथि पनि कार्कीको आदेशमा अख्तियारले थालेको छानबिन टुंगिएको छ । उनीसँगैका मन्त्री शंकर कोइरालाको छानबिन पनि आयोगको बैठकले सम्पत्ति छानबिनका क्रममा गैरकानुनी आर्जन नभेटिएको भन्दै फाइल तामेलीमा राख्ने निर्णय गरेको छ ।

एमाले नेता विजय पौडेलमाथिको छानबिन पनि टुंगिएको छ । कार्कीले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीलगायत २९ जनामाथि एकसाथ छानबिन थालेका थिए । त्यसैगरी पूर्वमन्त्री टेकबहादुर थापा घर्तीको फाइल पनि कार्कीको बहिर्गमनपछि अख्तियारले तामेलीमा पठाइसकेको छ । त्यसैगरी सचिव अनुपकुमार उपाध्यायका साथै पूर्वसचिव नारायणगोपाल मलेगो र सुनीलबहादुर मल्लको सम्पत्ति छानबिनको क्रममा अनियमितता नदेखिएकाले टुंग्याउने तयारी भएको अख्तियार स्रोतले बतायो ।

आइतबार नै अख्तियारको बैठकमा कार्यवाहक प्रमुख आयुक्त दीप बन्स्यातले यस्ता प्रकृतिका शंकास्पद छानबिन र उजुरीलाई दुई महिनाभित्र टुंगोमा पुर्‍याउन निर्देशन दिएका छन् । ‘लोकमानको आदेशमा छानबिन सुरु भएका र शंकास्पद जस्ता लाग्ने छानबिन प्राथमिकताका साथ किनारा लगाउन आदेश आएको छ,’ एक सहसचिवले कान्तिपुरसित भने, ‘यथार्थपरक रूपमै छानबिन होस् भन्ने आशय हो, लोकमानकै कारण पीडित भएकाहरूले थप सास्ती नपाऊन् भनेर यसो गरिएको हो ।’ तर छानबिनलाई प्रक्रियागत रूपमै हेर्न आदेश आएको ती सहसचिवले बताए । कार्कीकै आदेशमा भएका छानबिनमध्ये केही भने मुद्दा चल्ने प्रकृतिका रहेको उनले बताए ।

अख्तियारका प्रवक्ता जीवनाथ कोइरालाले दर्ता भएका उजुरीहरू आयोगको कार्यविधि अनुसार नै टुंग्याइएको जानकारी दिए । ‘छानबिनको क्रममा गैरकानुनी आर्जन देखिए मुद्दा चल्ने हो, नभए तामेलीमा जान्छन्,’ कोइरालाले कान्तिपुरसित भने, ‘आयोगमा परेका कतिपय उजुरी पुष्टि हुन नसकेर फाइल तामेलीमा पठाइएको हो ।’ अख्तियार स्रोतका अनुसार कार्कीको कार्यकालमा करिब २२/२३ सय जनाले १३ पाने सम्पत्ति विवरण भरेका थिए । तीमध्ये करिब ६०/७० जनामाथि कार्कीले आक्रोश र प्रतिशोधमा बेनामे उजुरी हाल्न लगाएर छानबिन गर्न लगाएका थिए । ‘आयोगले प्राथमिकतामा राखेर उनीहरूमाथिको छानबिनलाई किनारा लगाउँदै छ,’ अख्तियार स्रोतले भन्यो ।



Source : Ekantipur

प्रकाशित: फाल्गुन ३, २०७३                                                                               www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90