Top Ad 728x90

Showing posts with label मनोरञ्जन. Show all posts
Showing posts with label मनोरञ्जन. Show all posts

Friday, May 19, 2017

महिलाको सहमतिमा यौनसम्पर्क गरेको भनेपछि…

by
लन्डन । इटालीको अदालतले यौन उत्पीडनको विषयमा अभियुक्तविरुद्धको मुद्दा खारेज गरिदिएको छ । पीडितले बलात्कारको समयमा जोडले नचिच्याएको भन्दै मुद्दा खारेज गरिएको हो ।
गत महिना सुनाइएको फैसलापछि इटालीका जनताले त्यसको तीब्र आलोचना गरेपछि न्यायमन्त्रीले त्यसको छानविन हुने जनाएका छन् ।
अदालतले बलात्कारी (पीडितकै सहकर्मी)लाई दोषी सावित गर्ने पर्याप्त आधार नभएको भन्दै मुद्दा खारेज गरेको छ । महिलाले यो मुद्दा खारेज भएपछि उल्टै मानहानीको मुद्दाको सामना गर्नुपरेको छ । फैसलाले इटालीमा विवाद सिर्जना गरेको छ ।
न्यायमन्त्री एन्द्रिया ओर्ल्यन्डोले आफ्नो मन्त्रालयका अधिकारीहरुलाई सन् २०११ को घटनाको छानविन गर्न आदेश दिएका छन् । पीडित महिला तुरिन सहरकै एक अस्पतालमा काम गर्थिन् ।
उनले आरोपीले आफूमाथि सेक्सको दवाव दिएको बताएकी छन् । महिलाले आफूले त्यसमा असहमति जनाएपछि काम दिन समेत बन्द गरेको उल्लेख गरेकी छन् ।
मुद्दाका क्रममा महिलाका वकिलले पीडित महिलालाई बच्चा अवस्थामा पनि बाबुले नै यौन उत्पीडन गरेको बताए । यस घटनामा अभियुक्तले यौन सम्बन्ध राखेको स्वीकार गरे । तर यो सबै सहमतिमा नै भएको उनको भनाई थियो । – एजेन्सी

Monday, February 13, 2017

'भ्यालेन्टाईन्स डे' मनाईदै

by

फाल्गुन ३, २०७३ विश्वभर आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाईन्स डे मनाइदैछ । रोमन साम्राज्यमा युवा प्रेम र विवाह तिर लागे सैनिक सेवा प्रभावित हुने भन्दै प्रतिबन्ध लगाईएको अवस्थामा त्यसको विरोधमा उत्रिएका पादरी सेन्ट भ्यालेन्टाईनको सम्झनामा यो दिन मनाउने गरिन्छ । उनले युवायुवतीको जोडी तयार गरी सार्वजनिक स्थलमा सामुहिक विवाह कार्यक्रम गरेपछि कानुन उल्लघंन गरेको आरोपमा ईसा पुर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो । प्रेमका लागी प्राण आहुती गरेका सेन्ट भ्यालेन्टाईनको सम्झनामा फेब्रुअरी १४ मा भ्यालेन्टाईन्स डे मनाउन थालिएको बिश्वास छ । प्रणय दिवसको अवसरमा प्रेमजोडीहरु उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । विषेश गरी युवा युवतीले चाडकै रुपमा मनाउने प्रणय दिवस केही वर्षयता नेपालमा पनि विशेष रुपमा मनाउने गरिएको छ । काठमाडौ लगायतका देशका बिभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । भ्यालेन्टाईन्स डेलाई लक्षित गरी यो बर्ष बिगतको भन्दा बढी करिब ५० लाख रुपैयाँ बारबरको रातो गुलाब नेपाल भित्रिएको छ । रातो गुलाबलाई प्रेमको प्रतिकका रुपमा लिने गरिन्छ । प्रकाशित:फाल्गुन ३, २०७३




Source : Ekantipur                                                                                                    www.kkantipur.com

म यसरी रोए रेडियोमा धुरुधुरु..!

by

दशैको टिकाको दिन मध्यान्ह सम्ममा हामीले पानी पनि खान पाएका थिएनौ तर हाम्रा साथीहरु दशैमा कहाँ के गर्दैछन र कस कसले दशै कसरी कसरी मनाइरहेका छन भनेर प्रत्यक्ष प्रशारण गरीरहेका थियौ । साथीहरुले मिठो मिठो खानेकुरा खाएको र रमाइलो गरीरहेको बताइ रहदा हामिले भने पानी पनि खान पाएका थिएनौ ।



बिष्णुप्रसाद पोखरेल : 
आज रेडियो दिवस । मैले लामै समय रेडियोमा बिताए । करिब ७ बर्ष रेडियोमा काम गरेको छु । अहिले केहि महिनायता रेडियोमा छैन । मैले रेडियोमा काम गर्दाको धुरुधुरु रोएको छु । सप्तरङ्गी एफ.एम दमकमा रहेर काम गर्दा मैले ७ बर्ष अगाडि नागरिक दैनिकको पूर्वेलीमा लखेको लेख सम्झे । म धुरुधुरु रुदा नेपालीहरुको मूख्य चाड दशै रहेको थियो । त्यो लेख यस्तो थियो ।
दशैमा प्राय जसो जहाँ जसरी काम गर्ने भएपनि सबैले दुइ चार दिनलाइ भए पनि बिदा मिलाएका नै हुन्छन । प्रहरी ,एम्बुलेन्स चालक लगायतका केहि यस्ता क्षेत्र रहेका छन जसले दशै तिहार तथा चाड पर्वमा बिदा मिलाउन निक्कै मुश्किल पर्दछ ।
पछिल्लो समयमा एफ.एम रेडियोहरु खुल्ने क्रम बडेको छ । दशै तिहारमा केहि दिन पत्रिका त बन्द हुन्छन तर रेडियो बन्द हुदैनन । रेडियो बन्द नहुने भएपछि दशै या कुनै पनि चाड रेडियोकर्मिहरुलाइ बिदा मिलाउन निक्कै समस्या पर्छ । कार्यक्रम त रेकर्ड गरेर बज्लान या त दशै गीतहरु बज्लान तर समचार त बज्छ नै र यसका लागी एफ.एम.मा रहनै पर्छ । दशैको टिकाको दिन रमाइलो गर्ने मिठो मसिनो जे छ खाने ,परिवारमा संगै रमाउने सबैको इच्छा त हुन्छ नै तर आफ्नो मात्र इच्छाले नहुने र पेशा प्रति प्रतिबद्ध हुनु पर्ने भएपछि आफनो इच्छा गौढ हुने रहेछ । गत बर्षको दशै मेरा लागी एउटा अबिष्मरणिय दिन बनेको छ ।रेडियोमा काम गर्दाको पाँच बर्षको अनुभबमा सबै भन्दा बिर्सन नसक्ने दिन नै यहि बनेको छ ।
गत बर्ष एक जना बन्धुको बिदेशमा दुर्घटनामा परी ज्यान गुमाएकाले घरमा टिका नलगाउने भनेपछि मैले एफ.एमका प्राय सबै साथीहरुलाइ दशैमा घर गए फरक नपर्ने र अफिसमा म बस्ने बताए । समचारको एक जना साथी अजित धिमाल ,प्राबिधिक चन्द्र थापा र म दशैको टिकाको दिन बिहानै देखि अफिसमा ड्युटिमा थियौ । बिहान दश बजे सम्म त खासै केहि वास्ता भएन ।दश बजेपछि भोकले च्याप्न थालेपछि केहि किनेर खानु प¥यो भनेर अफिस बाहिर निस्किएर पुरै बजार परिक्रमा गर्दा एउटा पनि पसल खुलेको थिएन ।
समाचार शाखाका अजित धिमाल पनि भोक लागेपछि खाना खोज्दै बजार घुम्नु भएछ । बजार घुमेर केहि पनि नभेटेर हैरान भएर अफिस फिर्नु भयो । अब पानी खाएर भएपनि भोक मार्ने सोचेर पानी खान खोज्दा समेत धारामा पानी नै थिएन । मेची सहकारी संस्थाको पाँचौ तलामा रहेको कार्यलयको धारामा पानी नआएपछि पाँच तला मुनि आएर कल पेल्दा कल समेत बिग्रिएको रहेछ पानी नै आएन ।
दशैको टिकाको दिन मध्यान्ह सम्ममा हामीले पानी पनि खान पाएका थिएनौ तर हाम्रा साथीहरु दशैमा कहाँ के गर्दैछन र कस कसले दशै कसरी कसरी मनाइरहेका छन भनेर प्रत्यक्ष प्रशारण गरीरहेका थियौ । साथीहरुले मिठो मिठो खानेकुरा खाएको र रमाइलो गरीरहेको बताइ रहदा हामिले भने पानी पनि खान पाएका थिएनौ ।
म बिहान छ बजे नै घरबाट निस्किएको थिए ।घरबाट निस्कदा ममिले केहि त खाएर जा भनेको झलझलि याद आइरहयो । बजारमा केहि न केहि त किनेर खान पाइन्छ भन्ने लागेको थियो तर सबै पसल बन्द थिए ।बजार पुरै सुनसान थियो । हामि दिउसो दुइ बजे सम्म पनि भोकै नै थियौ ।अरु त के मुखमा पानी सम्म पनि परेको थिएन ।यस्तो हुन्छ भन्ने त कल्पना पनि गरेका थिएनौ ।
अजित धिमाल समचारमा ब्यस्त हुनुहुन्थ्यो । प्राबिधिक चन्द्र हजुर बुबा र आमाको हातको टिका लगाउन पाइन भनेर रुन मात्र नसक्ने अवस्थामा थिए । दिउसो तीन बजेपछि फाट्टफुट्ट पसल खुल्न थाल्यो र हामिले चिउरामा भुजिया मिसाएर कोकोकोला संग खाएर बल्ल भोक मारीयो । मैले अन एयरमा प्राबिधिक काम कहिले पनि गरेको थिइन । चार बजे समचार थियो । तीन बजेपछि प्राबिधिक चन्द्रलाइ गीत लगाएर हजुरबुबा ,हजुरआमाको घरमा गइ टिका लगाएर आउन भने । म भने त्यसो गर्न लगाएर उसलाइ टिका लगाउन जान भने र उ त्यसरीनै टिका लगाउन निस्कियो ।
एक घण्टाको लागी बिदा त दिए तर चार बजे प्राबिधिक आइ नपुगेपछि समस्या पर्ने अवस्था आउने भयो । बिकल्प पनि खास केहि थिएन । रेडियो बन्द गर्ने कुरा भएन ।प्राबिधिकको मोबाइलमा सम्पर्क गरेर उसले भनेबमोजीम म आफैले प्राबिधिक काम समेत गरेर समाचार प्रशारण गरेका थियौ । दशैको टिकाको यो दिन मेरो छब्बिस बर्षे जीबनकै एउटा नबिर्सने क्षण बनेको छ । त्यतिखेर दशैमा कसैको पनि यस्तो अवस्था नआओस भन्ने लाग्यो ।

Source : Hamrodamak

सोम, फाल्गुन २, २०७३ मा प्रकाशित                                                                        www.kkantipur.com

Wednesday, February 8, 2017

महाअभियोग उपसमितिको प्रतिवेदन– ‘कार्कीमाथि छानबिन र कारवाही हुनुपर्छ’

by





माघ २७, २०७३- सदको महाअभियोग सिफारिस समितिद्वारा गठित छानबिन उपसमितिले सर्वोच्च अदालतले ‘अयोग्य’ ठहर गरी पदमुक्त भएका तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ । संसद्‍मा कार्कीविरुद्ध महाअभियोग लगाउन दर्ता भएको प्रस्तावमाथिको छानबिनका क्रममा उपसमितिले प्रतिवेदन तयार गरेको हो ।

कार्कीले अख्तियार प्रमुख हुँदा नेपालको संविधान, प्रचलित कानुन र क्षेत्राधिकार उल्लंघन गरेको भेटिएको निष्कर्ष निकाल्दै उपसमितिले थप कारबाहीका लागि संसद्ले अख्तियार र सरकारलाई रुलिङ गर्न उपयुक्त हुने सुझाव दिएको हो । उपसमितिले कार्कीका गैरकानुनी काम–कारबाहीबारे सरकार, संवैधानिक एवं अन्य निकायले अनुसन्धान गर्न सक्ने हँुदा संसद्ले आवश्यक निर्देशन दिनु उपयुक्त हुने सुझाव तयार पारेको छ ।



उपसमितिले महाअभियोग प्रस्तावमा उल्लिखित विषयवस्तु, उपसमितिमा व्यक्ति/निकायले दिएको सुझाव तथा विभिन्न सरकारी निकायले पठाएको पत्रका आधारमा अध्ययन गरेको थियो ।


महाअभियोग सिफारिस समितिलाई प्रतिवेदन बुझाइसकेपछि समिति सदस्य एवं माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले क्षेत्राधिकार उल्लंघनका साथै गैरकानुनी काम गरेको देखिएको बताए । ‘लोकमानले सार्वजनिक पदमा बसेर संविधान र राष्ट्रहितविपरीतका काम गरेकाले संवैधानिक तथा सरकारी निकायहरूले छानबिन र कारबाही अघि बढाउन आवश्यक हुन्छ,’ बिडारीले पत्रकारहरूसँग भने ।

उपसमितिले सर्वोच्चकै आदेशका कारण कार्की पदमुक्त भएसकेकाले महाअभियोगको प्रक्रिया भने अघि बढाइरहनुनपर्ने सुझाव दिएको छ । उपसमितिले महाअभियोग प्रस्तावमा उल्लिखित विषयवस्तु, उपसमितिमा व्यक्ति/निकायले दिएको सुझाव तथा विभिन्न सरकारी निकायले पठाएको पत्रका आधारमा अध्ययन गरेको थियो । त्यसक्रममा एकाधबाहेक कार्कीविरुद्धका सबैजसो आरोप पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।

उपसमिति सदस्य रेवतीरमण भण्डारीले भने संसद्ले अघि बढाएको कारबाहीले महाअभियोग सरहकै मान्यता पाउने बताए । ‘जाँचबुझ आयोग ऐनअनुसार गठित आयोगले तयार पारेको प्रतिवेदनले प्रमाणका रूपमा मान्यता पायो,’ समितिले दिने प्रतिवेदन आगामी दिनका लागि समेत अभिलेख रहने उल्लेख गर्दै भण्डारीले भने, ‘संविधानमै उल्लेख भएको र जनप्रतिनिधिमूलक संस्थाले तयार पारेको प्रतिवेदनको अर्थ रहन्छ । प्रतिवेदनले कार्कीलाई भविष्यमा सार्वजनिक पदमा अयोग्यताको सैद्धान्तिक संकेत गरेको छ ।’

अदालतबाट पुष्टि भएका आरोप
उपसमितिले कार्कीविरुद्ध लागेका कतिपय आरोपबारे सर्वोच्च अदालतले आदेश जारी गर्ने क्रममा पुष्टि गरिसकेकाले त्यसबारे थप व्याख्या गर्न नपर्ने निष्कर्ष निकालेको छ । म्याद तामेली, क्षेत्राधिकारको उल्लंघन, प्रतिशोधको कारबाहीका कतिपय घटनामा सर्वोच्चले यसअघि गरिसकेका आदेशलाई उपसमितिले अध्ययनका क्रममा विश्लेषण गरेको छ ।

म्याद तामेलीका क्रममा भएको अवरोधका विषयमा सर्वोच्चले योग्यतासम्बन्धी निर्णयका क्रममा बोलिसकेको भन्दै उपसमितिले राय दिएको छैन । त्रिभुवन विश्वविद्यालयका ८ चिकित्सकलाई कारबाही गर्न कार्कीले दिएको निर्देशनलाई सर्वोच्चले गैरकानुनी भनी अन्तरिम आदेशमार्फत नै रोक लगाइदिएको छ । त्यसमा टेकेर उपसमितिले भनेको छ, ‘संविधानको स्पष्ट व्यवस्थालाई कानुनी अभावको परिस्थिति देखाई संविधानको व्यवस्थाविपरीत काम गर्नु गैरसंवैधानिक हो ।’

साझा प्रकाशनका अध्यक्ष कनकमणि दीक्षितमाथि अनुसन्धानका लागि भूमिसुधार कार्यालयमा कार्कीले गरेको निर्देशन पदीय मर्यादाविपरीत भएको छानबिन उपसमितिले निष्कर्ष निकालेको छ । आफ्ना आलोचक र फरक मत राख्नेमाथि कार्कीले शृंखलाबद्ध कारबाही थालेको पुष्टि भएको छ । साझाका अध्यक्ष दीक्षित, वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतविरुद्ध छानबिन प्रतिशोधको उद्देश्यबाट सञ्चालित भएको उपसमितिले पुष्टि गरेको छ ।

उपसमितिले कतिपयमाथिको कारबाहीमा भने अदालतको आदेशका कारण कार्की नेतृत्वको अख्तियार छानबिनबाट पछि हटेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘कार्कीबाट संविधान र विद्यमान ऐनको प्रतिकूल हुनेगरी राष्ट्रसेवकविरुद्ध निर्देशन दिने कार्य गरेको भन्ने देखिन आएकाले पदीय हैसियत दुरुपयोग गरी क्षेत्राधिकारविपरीत कार्य गरेको देखियो ।’ संविधान र भ्रष्टाचार नियन्त्रण ऐनको प्रतिकूल हुनेगरी अनुसन्धान गरेको भन्ने महाअभियोगको प्रस्ताव पनि जायज देखिएको उपसमितिको प्रतिवेदनमा छ ।

अभिलेखबाट भेटिएका बदमासी
अदालती आदेशबाट अन्य कागजात र अभिलेखबाट पनि कार्कीका क्रियाकलाप पदीय मर्यादाविपरीतका देखिएका छन्, त्यसलाई उपसमितिले छानबिन गरी कारबाहीका लागि उपयुक्त ठहर्‍याएको छ ।

उपसमितिले किस्ट मेडिकल कलेजको सिट निर्धारणमा कार्कीले संवैधानिक र पदीय हैसियत दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । किस्ट प्रकरणमा कार्कीले आफ्ना भाइ बालमानसिंह कार्कीलाई फाइदा हुने गरी नेपाल मेडिकल काउन्सिल र त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई मौखिक दबाब दिएका थिए । त्यसलाई पुष्टि गर्ने कागजात पनि उपसमितिले फेला पारेको छ । गलत र कानुनविपरीत काम भए अनुसन्धान गर्नुपर्नेमा त्यसविपरीत अधिकार दुरुपयोग गरेको उपसमितिले निष्कर्ष निकालेको छ ।

उपसमितिले काठमाडौं विश्वविद्यालयको एमडी/एमएस प्रवेश परीक्षामा पनि लोकमानसिंह कार्कीले गरेका हस्तक्षेपलाई गैरसंवैधानिक ठहर्‍याएको छ । काठमाडौंको प्रवेश परीक्षामा उपस्थित भएका अख्तियारका कर्मचारीहरूले ‘हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट’ भन्दै आधिकारिक पत्र मागेका केयूका पदाधिकारीलाई ‘संवैधानिक अंग भएकाले पत्र आवश्यक नहुने’ जवाफ दिएका थिए । केयू हस्तक्षेप प्रकरणमा अख्तियारले संस्थागत निर्णयसमेत नगरेको छानबिनबाट खुलेको छ । ‘मौखिक आदेशका भरमा सुरक्षाकर्मीसमेत दुरुपयोग गरी प्रवेश परीक्षामा हस्तक्षेप गरेको देखिन आयो,’ उपसमिति प्रतिवेदनमा भनिएको छ ।

संयन्त्र दुरुपयोग
कार्कीले गरेका कतिपय कामकारबाही मौखिक र हुकुमी शैलीका थिए । आफूविरुद्ध आदेश जारी गरेपछि कार्कीले विशेष अनुसन्धान महाशाखाका कर्मचारीलाई बोलाई तत्कालीन प्रधानन्यायाधिश कल्याण श्रेष्ठ र पूर्व–सभामुख सुवास नेम्बाङ र नातेदारमाथि छानबिनका लागि पत्र काट्न मौखिक आदेश दिएका थिए । ‘यस्ता दर्जनौं आदेशको लिखित प्रमाण कतै भेटिँदैन,’ अख्तियारका एक महाशाखा प्रमुखले भने ।

कार्कीले आफ्नो पद र हैसियत दुरुपयोग गरी राष्ट्रसेवकलाई विभिन्न आदेश र निर्देशन दिई आफूअनुकूल प्रशासन संयन्त्रलाई प्रयोग गरेको आरोपमा उपसमितिले कुनै अभिलेख नदेखिएको उल्लेख गरेको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरि अधिकारी र आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले कार्कीको आदेशमा विभिन्न फर्ममा छापा मार्नेदेखि व्यवसायीलाई पत्र काटेर आतंकित बनाएका थिए । यस्ता घटनामा पनि उपसमितिले पुष्टि हुनेगरी प्रमाण र कागजात फेला पार्न सकेको छैन ।

परिस्थितिजन्य घटना र अन्य गतिविधिले कार्कीले पद दुरुपयोग गरेको निष्कर्षमा भने उपसमिति पुगेको छ । अन्य निकायको क्षेत्राधिकारमा प्रहार गरेका कार्कीले अनुसन्धानका सामान्य सिद्धान्तहरू पनि पालना नगरेको उपसमितिले ठहर्‍याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा अख्तियारले पत्रकार सम्मेलन गरी लडाकु भत्ता प्रकरणमा छानबिन तीव्र पार्ने भनेको घटनालाई उपसमितिले ‘पदीय मर्यादा र हैसियत विपरीतको कार्य’ भनेको छ ।

कार्कीले नियोजित रूपमा उच्चपदस्थ व्यक्तिहरूको टेलिफोन, मोबाइल सम्पर्कका गतिविधिमा हस्तक्षेप गरी गोपनीयताको हक उल्लंघन गरेको भेटिएको छ । कार्की पदमुक्त भएपछि अख्तियारका पदाधिकारीहरूले नै त्यस्ता काम रोक्न आयोगमार्फत विभिन्न निकायमा पत्राचार गरेका थिए । अनुसन्धानका नाममा लामो समयदेखि विभिन्न सरकारी निकायका सक्कल फाइल नै मगाएर ‘होल्ड’ गरेको पनि पुष्टि भएको छ । कार्कीले नेपाल टेलिकमको रणनीतिक साझेदारसम्बन्धी फाइल लामो समय रोकेर प्रतिस्पर्धी अन्य टेलिकम कम्पनीलाई फाइदा हुने गतिविधि गरेकोसमेत प्रतिवेदनमा उल्लेख छ ।





प्रकाशित: माघ २७, २०७३

कान्तिपुर

‘नेपालकी तेरिया भनेर चिनिन चाहन्छु’

by





माघ २६, २०७३- भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतियोगिता ‘झलक दिखला जा’ जितेकी तेरिया फौजामगरले आफू नेपालकी तेरिया बन्न चाहेको बताएकी छन् । यसका लागि केही समय भारतमै बसेर करिअर बनाउने पनि उनको योजना छ ।

‘नेपालीको साथ र माया लिएर त्यहाँ काम गर्नेछु,’ मंगलबार यहाँ आयोजित सम्मान कार्यक्रममा उनले भनिन्, ‘किनभने म तेरिया मात्र नभई नेपालकी तेरिया भनेर देशको नाम उचो बनाउन चाहन्छु ।’

१४ वर्षे तेरियाको भविष्यमा कोरियोग्राफी र अभिनयमा लाग्ने सोच छ । भारतमै बसेर यसको जग बसाउने उल्लेख गर्दै उनले थपिन्, ‘त्यहाँको प्लेटफर्मबाट नेपालको लागि काम गर्नेछु ।’

आफूलाई पटकपटक जिताउन सहयोग गर्ने नेपाली दाजुभाइ–दिदीबहिनीको गुन तिर्न पनि यसो गर्ने उनले बताइन् । ‘यसअगाडि डीआईडी लिटिल मास्टर जितेपछि पनि नेपाली झन्डासहित देश–विदेशमा नृत्य देखाएँ,’ उनले सुनाइ, ‘यसलाई अब पनि निरन्तरता दिनेछु । म जहाँ जाँदा पनि जे गर्दा पनि नेपाल सम्झन्छु, नेपाली हुँ भन्छु । मलाई सबै नेपालीले वाच गरिरहनुभएको छ जस्तो लाग्छ ।’

रुपन्देहीको रुद्रपुरकी १४ वर्षीया तेरिया ठूलो भएपछि भने देशका लागि आफ्नो सीप र कमाइ खर्चने सोचमा छिन् । त्यसकै लागि तेरिया मगर फाउन्डेसन खोलेकी छन् । ‘मैले कमाएको केही रकम अहिले पनि फाउन्डेसनमा लगाएकी छु,’ उनले भनिन्, ‘यसबाट केही साथीले सहयोग पाउनुभएको छ । अभिभावक गुमाएका र पढ्न नपाएकालाई पढाइनेछ । प्रतिभा भएका तर देखाउने अवसर नपाएकालाई प्रतिभा देखाउन सहयोग हुनेछ ।’

भारतीय टीभी च्यानल कलर्सको डान्स सो ‘झलक दिखला जा’ जितेपछि उनी पहिलोपटक यहाँ आएकी हुन् । यही मौका पारेर फाउन्डेसन र बागेश्वरी संगीतालयले सम्मान तथा बधाइ कार्यक्रम गरेका हुन् । तेरियाले डान्स करिअर सुरु गरेको बागेश्वरी संगीतालयका निर्देशक सुरेश सेन्चुरीले पनि उनलाई सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले पनि सम्मान गरे । उनका समर्थकले खुसी साटासाट गरे ।

‘झलक दिखला जा’ विजेता बनेपछि तेरियाले ३० लाख भारु (करिब ४८ लाख रुपैयाँ) पाएकी थिइन् ।





प्रकाशित: माघ २६, २०७३

कान्तिपुर

बझाङ सदरमुकामका सबै मेडिकल पसलमा प्रशासनको ताला, कुनैपनि मेडिकलले लिएका छैनन् अनुमति

by

अवैध मेडिकलमा ताला लगाउँदै प्रहरी ।तस्बिर : बसन्तप्रताप सिंह




माघ २६, २०७३- बझाङ सदरमुकाम चैनपुरमा रहेको भगवती हेल्थ क्लिनिकले तीन दिने स्वास्थ्य शिविर चलाइरहेको थियो । स्थानीय संचार माध्यम मार्फत विषेशज्ञ चिकित्सक आउने विज्ञापन गराइएको उक्त शिविरमा जाँच गर्नका लागि गाउँगाउँबाट बिरामी आएका थिए ।

पाँच सय रुपैयाँ प्रवेश शुल्क लिइएको उक्त शिविरमा दुई मिनेट पनि बिरामी जाँच नगरी महंगो रकमको औषधिहरु दिने काम भैरहेको थियो । कसैले यो सूचना जिल्ला प्रशासन कार्यालयलाई दियो ।

सोही सूचनाको आधारमा प्रहरीसहित जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्त, जिल्ला अस्पतालका प्रमुख डा. विष्णु खतिवडालाई लिएर सहायक प्रमुख जिल्ला अधिकारीको टोली शिविर स्थलमा पुग्यो । शिविरमा सेती अञ्चल अस्पतालका डा. सुरज तिवारी र अर्का डा. प्रणय मण्डल बिरामीको जाँचमा व्यस्त थिए ।

दर्ता नै नगरी संचालन गरिएको भगवती क्लिनिकले शिविर संचालन गर्न नपाउने भन्दै बन्द गराइयो । अनुगमन टोलीले शंका लागेर चिकित्सकको प्रमाणपत्र हेर्‍यो ।

नक्कली चिकित्सक भन्दै ठगी गर्ने मण्डल (कालो ज्याकेट र चश्मा लगाएको) । तस्बिर : बसन्तप्रताप सिंह

प्रणय मण्डल चिकित्सक प्रमाणपत्र देखाए । त्यो नेपालको नभइ भारतको इन्स्टिच्युट अफ अल्टरनेटीभ मेडिसिनको थियो । सहायक प्रमुख जिल्ला अधिकारी लगायत सबैले उनको प्रमाणपत्र हेरे र शंका लागेर सोधखोज गरे । त्यसपछि मण्डल आफैंले प्रमाणपत्र नक्कली भएको स्वीकारे । तर उनलाई अब देखि यस्तो काम नगर्नु भन्दै सम्झाएर छोडियो ।

भारतको कलकत्ता घर भएका प्रणय मण्डल झण्डै दश वर्ष देखि जिल्लाका विभिन्न ठाउँमा मेडिकल तथा क्लिनिकहरु संचालन गर्दै आएका छन् । विना कुनै औपचारीक अध्ययन चिकित्सकको काम गरेर वर्षौंदेखि ठगी गर्दै आएका मण्डललाई त्यतिकै छोडेको देखेर अनुगमनमा संगै गएकाहरु छक्क परे ।

‘खुलेआम जनस्वास्थ्य माथि खेलवाड गरिहेको व्यक्तिलाई कारवाही हुनपर्ने हो । उसले गल्ती गरेको प्रतिवेदन लेखेर दिनुपर्छ भने पनि हामी तयार छौं,’ टोलीमा संगै रहेका जिल्ला अस्पतालका प्रमुख विण्णु खतिवडा भने, ‘यस विषयमा मैले प्रमुख जिल्ला अधिकारीलाई जानकारी समेत गराइसकेको छु ।’

मण्डलले बिना पुर्जी औषधिहरु दिने र औषधिले नकारात्मक असर पुर्‍याइ सिकिस्त भएका बिरामीहरु यस अघि पनि जिल्ला अस्पतालमा आउने गरेको दाबी खतिवडाको थियो । ‘यस्तो संवेदनशिल विषयमा कारवाही भएन भने बेथिति झनै बढ्छ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयले भने उनको नाममा कसैको पनि उजुरी नपरेका कारण पक्राउ गर्न नसकिएको बताएको छ । आफ्नै आँखा अगाडि नक्कली डाक्टर भनि प्रमाणित हुँदासम्म पनि किन पक्राउ नगरेको भनि सोधेको प्रश्नमा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले आफूले प्रमुख जिल्ला अधिकारीलाई जाहेर गरेको र यस विषयमा निर्देशन नआएका कारण पक्राउ गर्न नसकेको बताए । प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भने कसैले उसले ठगेको प्रमाणसहित उजुरी गरे तत्काल पक्राउ गरेर कारवाही गरिने बताए ।

‘डाक्टर नक्कली भएको प्रमाण सहायक प्रमुख जिल्ला अधिकारी स्वयंले हेरीसके पछि किन उजुरी खोजेका हुन् ?’ नागरिक समाजका अगुवा धर्मजंङ सिंहले भने, ‘कारवाही गर्ने निकायको प्रमुख स्वयंले गलत भेटाउँदा पनि कानुनको दफा पल्टाएर छोड्नु भनेको हास्यास्पद विषय हो ।’

मण्डलले केही महिना अघि भगवती फार्मेसीको नाममा क्लिनिक आफै संचालन गरिरहेका थिए । अहिले भैरवनाथ गाविसका समीतराज धामीको नाममा भगवती हेल्थ क्लिनिक नाम दिएर औषधि व्यवस्था विभागको स्विकृती बेगर मेडिकल संचालन गर्ने र चिकित्सकीय काम गर्ने गरीरहेका छन् । बुधबार दर्ता नगरी संचालन गरिएको भन्दै उनको क्लिनिकमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । उनले कञ्चनपुरको महेन्द्रनगरमा पनि डाक्टर हुँ भन्दै क्लिनिक र फार्मेसी संचालन गरिरहेको बुझिएको छ ।

सदरमुकामका सबै मेडिकलमा ताला
औषधि व्यवस्था विभागको अनुमति नै नलिई संचालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयले बझाङ सदरमुकाममा भएका सबै मेडिलकमा ताला लगाएको छ । औषधि व्यवस्था विभागको शाखा कार्यालय बाँकेको अनुमति लिएर मेडिकलको अनुगमन गर्दा दर्ता नभई संचालन गरेको पाइएकोले ताला लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र प्रहरीसहितको टोलीले अनुगमन गरिएका सुर्मा देवी फार्मेसी, चैन मेडिकल स्टोर, भगवती हेल्थ क्लिनिक, कालिका मेडिकल, जितेन्द्र मेडिकलमा ताला लगाएको हो ।

सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गरेका प्रमाण भेटिए
मेडिकल अनुगमनका क्रममा सामान्य बिरामीलाई पनि धेरै खालका औषधि एकै पटक दिने गरेको भेटिएको जिल्ला जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

‘औषधि बेचेको विवरण हेर्दा ५०/६० रुपैयाँको औषधिले पुग्ने बिरामीलाई सात हजार दुईसयसम्मको औषधि दिएको भेटियो,’ उनले भने ‘रोगको निदान नगरी एउटा औषधिले त काम गर्ला नि भन्ने नियत राखेर औषधि बेचेको भेटायौं ।’

मेडिकलहरुको लापरवाहीको हद नाघ्न थालेकोले आफुहरुले अनुगमन गरेको बताउँदै जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्णु खतिवडाले भने, ‘मेडिकलको औषधि खाएर सिकिस्त भएका बिरामीहरु अन्त्यमा जिल्ला अस्पतालमा आउँछन् । जथाभावी औषधि वितरण गरेका कारण मृगौला काम नलाग्ने भएका, रक्तचापलगायतका समस्या भएका बिरामीहरु संख्या पनि बढ्न थालेको छ । मेडिकलवालाहरुको मनोमानी छ ।’ महिनामा ५/६ जना बिरामीहरु मेडिकलको औषधि खाएर सिकिस्त भएपछि जिल्ला अस्पतालमा उपचार गराउन आउने गरेको उनले दाबी गरे ।

यहाँका धेरै जसो बिरामीहरु स्वास्थ्य संस्थामा नगएर पहिला मेडिकलमा नै जाँच गर्न जाने गरेका कारण कतिपय मेडिकलहरुले शैय्या नै राखेर भर्ना गरेर बिरामीको उपचार गर्ने गरेका छन् । कुनै मेडिकलमा ८/१० वटासम्म बेड राखेर भर्ना गरी उपचार गर्ने गरेको पाइएको अनुगमनमा संलग्न नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले बताए । ती सबै मेडिकलहरु अनुमति बिनै संचालन गरिएका हुन ।











प्रकाशित: माघ २६, २०७३

कान्तिपुर

उपत्यकाको धूलो कसरी घटाउने ?

by

उपत्यकाका सडकमा व्याप्त धूलोबीच यात्रारत सर्वसाधारण ।तस्बिर : कान्तिपुर




माघ २७, २०७३- महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ बुधबार कार्यकक्षमा कर्मचारीसँग उपत्यकाको धूलो न्यूनीकरणबारे छलफल गर्दै थिए । करिब २ घण्टाको छलफलले न्यूनीकरणका विभिन्न उपाय निकाल्यो । धूलो पूरै हटाउने विषयमा भने ठोस उपाय पत्ता लाग्न सकेन ।

‘सामान्य समाधान निकाल्न सकिन्छ तर पूरै न्यूनीकरणका लागि उपाय पत्ता नलाएसम्म धूलो घटदैन,’ कान्तिपुरसँग तामाङले भने, ‘उपत्यकाको एकीकृत विकासका लागि अधिकार सम्पन्न निकाय चाहिन्छ ।’

ढल व्यवस्थापन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), मुख्य सडकको व्यवस्थापन सडक विभाग र सहायक सडक व्यवस्थापन स्थानीय निकायको जिम्मेवारी भएकाले एकीकृत रूपमा विकास गर्न गाह्रो हुने कार्यकारी अधिकृत तामाङले बताए । उनले उपत्यकाको खानेपानी, बिजुली, ढल, सडक व्यवस्थापनका लागि अधिकार सम्पन्न निकाय गठन गरेर त्यसलाई सम्पूर्ण जिम्मेवारी दिनुपर्ने बताए ।

‘सडकले आफ्नो कार्यतालिकाअनुसार कालोपत्रे गर्छ, केयूकेएलले आफ्नै कार्यतालिकाअनुसार खानेपानी पाइप तथा ढल व्यवस्थापनका लागि खन्छ, दुई निकायबीच समन्वय नै हुन सकिरहेको छैन, अनि कसरी हुन्छ धूलो न्यूनीकरण ?’ उनले भने, ‘अब नयाँ अवधारणाअनुसार उपत्यका यातायात, बिजुली, खानेपानी, सडकलगायतको व्यवस्थापन गर्ने जिम्मा एउटै निकायलाई दिनुपर्छ ।’

तत्काल समाधानका लागि पानीले सडक पखाल्ने, ‘बु्रमर’ ले धूलो बढार्ने र सडकलाई तत्काल कालोपत्रे गर्नेबाहेक अरू विकल्प नरहेको कार्यकारी अधिकृत तामाङ बताउँछन् । मेलम्ची खानेपानी विकास समितिअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले खनेको स्थानमा तत्काल कालोपत्रे गर्नुपर्ने उनले बताए । भत्काइएको स्थानमा सडक विस्तार र कालोपत्रे गर्न टेन्डर आहवान गरिसकेको आयोजना निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए ।

‘मुख्य सहरमा पाइप लाइन बिछ्याउन मुख्य र सहायक सडक खनेका छौं, धूलो पनि उडेको छ,’ उनले भने, ‘फागुन पहिलो सातादेखि खनिएको सम्पूर्ण सडकमा कालोपत्रे गरिन्छ ।’ उनका अनुसार अहिले कालोपत्रे गर्दा चिसोले राम्रो हँुदैन । ८ मिटरभन्दा बढी चौडा सडक विभाग र त्यसभन्दा कम चौडा सडक आयोजनाले कालोपत्र गर्ने उनले जानकारी दिए । सडक विभागले मुख्य र नगरपालिकाले सहायक सडक कालोपत्रे गर्ने जिम्मेवारी बहन गर्दै आएको उनले जानकारी दिए । तर, पाइप लाइनका लागि सहायक सडक भत्काएपछि कालोपत्रे गर्ने सम्पूर्ण जिम्मेवारी आयोजनाले लिएको छ ।

अर्थ मन्त्रालयले मुख्य सडक कालोपत्र गर्न ८५ करोड रुपैयाँभन्दा बढी र सहायक सडकका लागि आयोजनाले १ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी उनले दिए । खनेको माटोले उपत्यकाको वातावरण धुलाम्मे भएपछि केही सडकमा अस्थायी रूपमा बालुवा र रोडा राख्ने काम गरिएको उनले बताए ।

‘कोटेश्वर–माइतीघर मण्डला, कोटेश्वर–एयरपोर्ट, नयाँ बानेश्वर लगायतका क्षेत्रमा धूलो उड्न नदिने सामग्री राखेका छौं,’ उनले भने, ‘अब केही दिनभित्रै खनेको क्षेत्रमा मात्र होइन, सडकको पूरै भाग कालोपत्रे गर्छौं ।’ लैनचौर–लाजिम्पाट ३ सय मिटर, ढोलाहिटी क्षेत्र १ किमि सडक कालोपत्रे सुरु गरिने उनले बताए । उपत्यका कुल सडकको लम्बाई १५ सय किमि छ, त्यसमध्ये ८ सयभन्दा बढी सडक विस्तार र पाइप लाइन बिछ्याउन भत्काइएको छ ।

२ सय किमि सडक विभाग र ६ सय किमिभन्दा बढी आयोजनाले पाइप बिछ्याउनका लागि भत्काएको हो । निर्देशनालय प्रमुख खत्रीले पाइप बिछ्याउन खनिएको सडकको माटोले मात्र उपत्यका धुलाम्मे नभएको बताए । ‘गल्ली विस्तारका लागि भत्काइएका छन् । उपत्यकाको प्रवेश नाका सडक पूरै विस्तार भइरहेका छन् । तिनमा गुडेका गाडीको चक्कामा लागेर धूलो सडकमा आउँछ,’ उनले भने, ‘अब सबै निकायले पानीको ट्यांकरबाट भए पनि सडकको धूलो पखाल्नुपर्छ ।’

सडक विभागका प्रवक्ता दयाकान्त झाले राजधानीका सडक कालोपत्रे हुनेबित्तिकै धूलोको समस्या हट्ने बताए । कलंकी–नागढुंगा ६ किमि सडकमा बिजुलीका खम्बा हटाउने काम भइरहेकाले केही दिनभित्रै कालोपत्रे गरिने बताए । त्रिपुरेश्वरदेखि कलंकीसम्मको करिब ५ किमि सडकको विस्तार कार्य सर्वोच्च अदालतको अन्तरिम आदेशले रोकिएको छ । सर्वोच्चले अर्को आदेश नआएसम्म त्यहाँ केही गर्न नसकिने प्रवक्ता झाले बताए ।

उनका अनुसार साँखु–चाबहिल ११ किमि सडक खण्डमा पनि अदालतकै आदेशले घर भत्काउन सकिएको छैन । ठेकेदारलाई भित्री सडक तत्काल कालोपत्रे गर्न निर्देशन दिइसकिएको पनि उनले बताए । पानीले सडक पखाल्न भने सम्भव नभएको उनको भनाइ छ ।

भूकम्पले भत्काएका निजी तथा सार्वजनिक भौतिक संरचनाको पुनर्निर्माण कार्य तीव्र रूपमा बढाउनुपर्ने उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले बताए । उपत्यकाको एकीकृत विकास गर्ने प्राधिकरणलाई जिम्मेवारी भए पनि कर्मचारी अभावमा केही गर्न नसकेको उनले बताए ।

‘काम गर भन्ने, कर्मचारी पदपूर्ति नगर्ने अनि कसरी विकासको काम अघि बढ्छ ?’ उनले भने, ‘धूलो हटाउने जिम्मा होस् वा अन्य, सबै एउटै निकायलाई जिम्मेवारी दिनुपर्छ ।’ तर, तत्कालका लागि सडकमा पानी छर्केर धूलोको समस्या समाधान गर्न सकिने उनले बताए ।





प्रकाशित: माघ २७, २०७३

कान्तिपुर

औषधिको मूल्य मनपरी

by





माघ २७, २०७३- मुलुकमा बन्ने र विदेशबाट आयात गरिने औषधि उत्पादन मूल्यको दाँजोमा १५ गुना बढी मूल्यसम्ममा बिक्री हुने गरेका छन् । औषधिको लागत मूल्यमा कति प्रतिशतसम्म थपेर उपभोक्ताका लागि अधिकतम खुद्रा मुल्य निर्धारण गर्ने भन्नेबारे कुनै कानुनी व्यवस्था नभएकाले यस्तो मनोमानी भएको हो । उत्पादक र सप्लायर्सले बढी मूल्यमा औषधि बेच्दा उपभोक्ता चर्को ठगिएका छन् ।

‘औषधि लागत मुल्यको दाजोमा अधिकतम १५ गुनसम्म बढी मुल्य तिर्न सर्वसाधारण बाध्य छन्’, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष एवं उपभोक्ताकर्मी बाबुराम हुमागाईंले भने । उनका अनुसार सरकारले औषधिको उचित मूल्य निर्धारण गर्न चासो नदिएकाले मानव स्वास्थ्यका लागि अपरिहार्य औषधिमा उपभोक्ता मारमा परेका हुन् ।

हुमागाईंका अनुसार रक्तचापको औषधि ‘एम्लोडिपिन’ ५ मिलिग्रामको एक चक्कीको उत्पादन मुल्य १५ देखि २० पैसा पर्छ, तर करिब ५ रुपयाँमा बेचिने गरेको छ । उत्पादकले मुलुकमा होलसेलरलाई औषधिको कमिसन ५ देखि २५ प्रतिशतसम्म र रिटेलरलाई १६ प्रतिशत दिने व्यवस्था भए पनि ‘टेबुल मुनिबाट बोनस’लगायतमार्फत् दुइ सय प्रतिशत भन्दा पनि बढीसम्म कमिसन दिइन्छ । ‘इन्सेन्टिभ (प्रोत्साहन) का नाममा औषधि प्रस्तावित गर्ने र बिक्री गर्नेलाई विभिन्न अफर(प्रस्ताव) समेत दिइन्छ’, उनले भने । औषधि प्रस्तावित गर्ने चिकित्सक, होलसेलर र रिटेलर बिक्रेतालाइ कम्पनीले कारसमेत दिने गर्छन ।

‘उत्पादकले औषधि खपत बढाउन आफ्नो खर्चमा धेरैजसो डाक्टरलाई विदेश शयर समेत गराउँछन्, विदेशमा सम्मेलनमा जाँदा लाग्ने सम्पूर्ण खर्चसमेत बेहोरिदिन्छन्’, एक औषधि व्यवसायीले भने, ‘यतिमात्र नभएर डाक्टरका लागि औषधि उत्पादकले महंगो होटेलमा जन्मदिन, विहेलगायतका पार्टी प्रायोजनसमेत गरिदिन्छन् ।’

अर्का एक औषधि ब्यवसायीले भने, ‘जसका कारण औषधिको बिक्री हुन्छ त्यसलाई जसरी भए पनि खुसी पार्ने काम गरिन्छ । त्यसक्रममा नया मोडेलका मोबाइल सेट, फ्रिज, पंखालगायतका घरेलु सामानमात्र नभएर जे आवश्यक छ त्योसमेत दिने गरिन्छ ।’ ती व्यवसायीका अनुसार औषधि उत्पादन मुल्य र उपभोक्ताले तिर्ने मुल्यमा देखिएको अत्यधिक अन्तरको फाइदा उत्पादकभन्दा बढी विचौलियाले लिन्छन् ।

औषधि व्यवस्था विभाग मुल्य नियन्त्रणमा संवेदनशील नरहेको गुनासो समेत हुमागाईंको छ । औषधि ऐनको दफा २६ ले औषधि व्यवस्था विभागलाई मुल्य निर्धारण गर्ने अधिकार दिएको छ, तर विभागले दायित्व पूरा गर्न चासो दिएको छैन ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकाल औषधि उत्पादन खर्चको आधारमा उपभोक्ताका लागि समुचित मुल्य निर्धारण गर्नेबारे कानुन स्पष्ट नरहेको तर्क गर्छन । ‘लागत मूल्यको दाँजोमा कतिसम्म बढी मुल्य उपभोक्ताले तिर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन’, उनले भने ।

विभागले औषधि उत्पादन खर्चमा सवै लागत जोडेर त्यसमा केहि प्रतिशत नाफा, होलसेलर, रिटेलरको कमिसन आदि थप्नेवारे गतबर्ष एउटा कार्यविधि बनेको उनले जनाए । औषधि ऐनको दफा २६ ले औषधिको मुल्य निर्धारण गर्ने अधिकार रहेको भने पनि यसको माध्यमले मूल्य कायम गर्न सहज नरहेको दाबी ढकालको छ । विभागमा औषधिको लागत मुल्यमा न्यायोचित, नाफा, कमिसन आदि जोडेर उपभोक्ताका लागि अधिकतम मुल्य निर्धारण गर्नेबारे बहस जारी छ ।

विशेषज्ञहरु औषधि व्यापारमा भएको अत्यधिक विक्रि विसंगति, कमीसन तन्त्र समाप्त गरेर उपभोक्तालाइ अधिकतम फाइदा सुनिश्चित गर्न सरकारबाट सबै औषधिको अधिकतम खुद्रा मुल्य निर्धारण गरिनु पर्ने वताउछन ।
मुलुकमा बर्सेनि करिव २० अर्बको औषधि र शल्यक्रियासँग सम्बन्धित अन्य सामान गरी ३२ अर्ब हाराहारीको विदेशबाट मात्रै आयात हुन्छ । तीमध्ये ४५ देखि ५० प्रतिशत अर्थात करिब १६ अर्ब बराबरको औषधि र शल्यक्रिया सामग्रीको खपत राजधानीमा हुने गर्छ ।

चिकित्सकमाथि कारवाही हुन सक्ने
नेपाल मेडिकल काउन्सिलले शैक्षिक उद्देश्य बाहेक चिकित्सकले औषधि कम्पनीबाट अनावश्यक फाइदा लिएमा कारवाही हुने जनाएको छ । काउन्सिलका इथिकल कमिटीका संयोजक डा.सतिश देवका अनुसार यसबारे परिमार्जित नया आचार संहितामा स्पष्ट उल्लेख छ ।

आचार संहितामा औषधि कम्पनी र चिकित्सकको सम्बन्धलाई पारदर्शी बनाइएको छ । चिकित्सकले शैक्षिक कारण बाहेक विदेश घुम्न वा कुनै सभा सम्मेलनमा जाँदा औषधि कम्पनीको लगानी नभएको खुलस्त पार्नुपर्नेछ । बिरामीलाई बढी या घटी औषधि लेख्न पाउने छैनन् ।

अनावश्यक एन्टिबायोटिकलगायत नचाहिने महँगा औषधि प्रस्तावित गर्ने चिकित्सकलाई कानुनी दायरामा ल्याइने पनि त्यसमा उल्लेख छ । व्यक्तिगत स्वार्थ नभए विरामीलाई फाइदा हुने उद्देश्यले औषधि कम्पनीवाट सहयोग लिएर गरिएको कामलाइ भने काउन्सिलले नैतिक मानेको छ ।

‘पाकिस्तानमा औषधि कम्पनी द्वारा दिइने कुनै पनि यस्तो कुरा जो विरामीको फाइदाको लागि होस, त्यसलाइ स्विकार्य मानेको छ’, डा.देवले भने, ‘शैक्षिक उद्देश्यका लागि पुस्तक, स्टेथेस्कोप, कुनै ज्ञान वर्धक शैक्षिक सम्मेलनमा सहभागि हुन सहयोग गर्नुलाई हामीले सहज लिएका छौं ।’





प्रकाशित: माघ २७, २०७३

कान्तिपुर

देउवा र ओलीलाई के भनेर सचेत गराइन् राष्ट्रपतिले ?

by

‘माघ ७ भित्र ३ वटै चुनाव गराउनुस् । चुनाव हुन नसके संवैधानिक र राजनीतिक संकट आइपर्छ’



माघ २७, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसँग बुधबार भेट गरी आउँदो माघ ७ भित्र ३ वटै तहको चुनाव गराइसक्न सचेत गराएकी छन् । चुनाव हुन नसकेमा संवैधानिक र राजनीतिक संकट आइपर्ने उल्लेख गर्दै राष्ट्रपतिले समयमै चुनावको मिति घोषणा गर्नुपर्नेतर्फ सजग गराएकी हुन् ।

ओलीले राष्ट्रपतिलाई शीतल निवासमा बिहान भेटेका थिए भने देउवाले साँझ करिब आधा घण्टा भेट गरेका थिए । ओलीसँगको भेटपछि र देउवासँगको भेटअघि राष्टपतिले कानुनविद्हरूसँग सुझावसमेत लिएकी थिइन् । कानुनविद्हरूले चुनाव गराउन दिएको परामर्श नमाने सरकारलाई चेतावनी दिएरै भए पनि निर्वाचन मिति घोषणा गर्न लगाउन सुझाव दिएका थिए ।
सरकारले चुनावी वातावरण बनाउन नसकेको, निर्वाचन मिति घोषणा गर्न आलटाल गरेको र सम्बद्ध कानुनहरूसमेत बनाउन नसकेको सन्दर्भमा राष्ट्रपति भण्डारीले दुई दिनयता शीतलनिवासमा सघन ढंगले कानुनविद् र प्रमुख दलका शीर्ष नेताहरूसित परामर्श गरिरहेकी छन् । नेपाल बार एसोसिएसन अध्यक्ष शेरबहादुर केसीसहित ६ जना कानुनविद्ले राष्ट्रपतिको ‘सल्लाह’ ले नमानेकाले सरकारलाई ‘चेतावनी’ दिएर भए पनि चुनावतिर डोर्‍याउनुपर्ने सुझाएका थिए ।
भण्डारीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी चुनाव गराउने सरकारी तयारीबारे बुझेकी थिइन् । दाहाललाई भेट्नु अघि कानुनी पृष्ठभूमिका राधेश्याम अधिकारी, अग्नि खरेल र रामनारायण बिडारीलगायत ६ जना सांसदसँग संविधान कार्यान्वयनबारे छलफल गरेको स्रोतको भनाइ छ । सांसदहरूले जेठ १५ गते बजेट पेस गर्ने दिन भनेर संविधानमै किटान गरिएको, त्यसअघि नै पूर्वबजेट छलफल र सरकारको नीति तथा कार्यक्रममा संसद् व्यस्त हुने भएकाले सकेसम्म वैशाख अन्तिममै चुनाव हुनु राम्रो हुने सुझाएका थिए । निर्वाचनसँग सम्बन्धित ५ वटा कानुन राष्ट्रियसभा निर्वाचन, प्रतिनिधिसभा निर्वाचन, प्रदेशसभा निर्वाचन ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोग ऐनको विधेयक संसद्को आगामी बैठकमा सरकारले पेस गरिसक्नुपर्ने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराउन समेत सुझाव दिएका थिए ।
बार अध्यक्ष केसीसहित वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ताहरू टीकाराम भट्टराई, भीमार्जुन आचार्य, विपिन अधिकारी र चन्द्र काफ्लेसँग बुधबार राष्ट्रपति भण्डारीले मूलत: २ प्रश्न राखेकी थिइन् । पहिलो, संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचनको चुनावी वातावरण बनाउन के–के गर्नुपर्छ ? त्यसमा स्थानीय तह कि निकायको भन्ने समेत उनको जिज्ञासा थियो । दोस्रो, राष्ट्रपतिको हैसियतमा संविधान कार्यान्वयन गराउन कस्तो भूमिका खेल्नुपर्ला भन्ने प्रश्न थियो ।
जवाफमा कानुनविद्हरूले चुनाव मिति तोक्न सरकारले ढिला गरिरहेको, चुनाव हुन नसके संविधान नै कार्यान्वयन हुन नसक्ने बताएका थिए । ‘समयमै चुनाव गराउनका लागि तपाईंले बेला–बेला दिएका सल्लाह, सुझाव सरकारले सुनेजस्तो लागेन । मिति तोक्नका लागि शीर्ष नेताहरूलाई बोलाएर निर्देशन दिनुस् । चेतावनी नै नदिए अलमलै गर्ने देखिन्छ,’ त्यहाँ प्राप्त सुझाव उद्धृत गर्दै स्रोतले भन्यो । राष्ट्रपति संविधानको पालक, संरक्षकसमेत भएकाले कार्यान्वयन गराउन विशेष भूमिका खेल्नुपर्ने अवस्था आएको सुझाव उनीहरूको थियो ।
भेटपछि बार अध्यक्ष केसीले चुनाव गराउनेतर्फ राष्ट्रपतिको विशेष चिन्ता, चासो र जिज्ञासा रहेको प्रतिक्रिया दिए । स्थानीय तह कि निकाय भन्नेमा चाहिँ कानुनविद्ले तहकै गर्नुपर्ने सुझाव दिएका थिए ।
राजनीतिक भेटको शृंखला केही दिन जारी हुने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाका शीर्ष नेताहरूसँग समेत राष्ट्रपति भण्डारीले यिनै विषयमा भेट्ने तयारी गरेकी छन् । समयसीमाभित्र चुनाव नभए भोलि आइपर्न सक्ने समस्यातर्फ राष्ट्रपतिले प्रधानमन्त्री र शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गराएकी हुन् ।





प्रकाशित: माघ २७, २०७३



Top Ad 728x90