Top Ad 728x90

Monday, February 13, 2017

,

मनको कुरा सीधा भन्दिन के गाह्रो छ र ?


अहिलेका मान्छे स्ट्रेट फर्वाड छन् । मनको कुरा सीधा भन्दिन के गाह्रो छ र ? म्यासेन्जरमा लभको इमोजी पठाए पुगिहाल्यो । संसार यतिखेर प्रणयको मधुर वासनामा रङमङिएको छ । भ्यालेन्टाइन डे सेलिब्रेसनमा जात, वर्ण, उमेर र भूगोलका डिमार्केसन र डिक्रिमिनेसनहरु हराएका छन् । कस्मोपोलिटन कल्चरतर्फ उन्मुख काठमाडौंदेखि आ–आफ्ना चार्म बोकेका सहरहरु सबैतिर प्रणय दिवसको रन्को छ ।



- सजना बराल
अहिलेका मान्छे स्ट्रेट फर्वाड छन् । मनको कुरा सीधा भन्दिन के गाह्रो छ र ? म्यासेन्जरमा लभको इमोजी पठाए पुगिहाल्यो । संसार यतिखेर प्रणयको मधुर वासनामा रङमङिएको छ । भ्यालेन्टाइन डे सेलिब्रेसनमा जात, वर्ण, उमेर र भूगोलका डिमार्केसन र डिक्रिमिनेसनहरु हराएका छन् । कस्मोपोलिटन कल्चरतर्फ उन्मुख काठमाडौंदेखि आ–आफ्ना चार्म बोकेका सहरहरु सबैतिर प्रणय दिवसको रन्को छ ।



माघ २८, २०७३- लिबरल काठमाडौं

काठमाडौं ठाउँका हिसाबले सानै, साँघुरो राजधानी हो । तर यो भित्रभित्र खुकुलो बन्दै गइरहेको छ, फ्रयांकनेस बढिरहेको छ । मान्छेहरू ओपन भइरहेका छन् । 

सामाजिक सञ्जालले मानिसको निजित्व कमजोर बन्दै गएको छ । एकअर्काको दैनिकी वा मनस्थितिबारे अर्कोलाई अवगत भइहाल्ने अवस्था छ । छोराछोरीको कुरा अभिभावकले फेसबुकमार्फत चाल पाउन थालेका छन् । 
कसको कोसँग अफेयर चलेको छ भन्ने रहस्य पनि सामाजिक सञ्जालले नै खोलिदिन्छ । स्कुल, कलेज पढ्नेहरू कुरा धेरै लुकाउन सक्दैनन् । रिलेसनसिप स्टाटसबारे तिनले कहीँ न कहीँ ‘मुख खोलेकै’ हुन्छन् । कतिले इन रिलेसनसिप विद फलानो भनेर फेसबुकमै लेख्छन् । कोही त पप्पी दिँदै गरेको फोटो नै इन्स्टाग्राममा अपलोड गरिदिन्छन् । योङ जेनेरेसनको लभ लाइफ निकै पारदर्शी बन्दैछ । 
पहिले–पहिले कसैसँग अफेयर चलेको कुरा लुकाउनुपथ्र्यो । अचेल टिनएज लागेदेखि नै पार्टनर छ/छैन सोध्न थालिन्छ । कसैले नेगेटिभ उत्तर दिए सोध्नेले पत्याउँदैन । केटीहरूले ब्वाई फ्रेन्ड छैन भन्यो भने सोध्ने मान्छे मुख लोपार्न थाल्छ । मानौं, यो असम्भव हो । रिलेसनसिपमा हुनु अब सामान्य कुरा बनेको छ । परिवार वा आफन्तसँग स्टाटस सेयर गर्ने चलन आयो । उहिलेका हजुरबा–आमालाई यो जमाना देखेर कस्तो लाग्दो हो ?
...
प्रेमिल जोडीका लागि राजधानीको वातावरणचाहिँ अलि फुस्रै छ । यहाँ हरिया र रंगीन बगैंचा छैनन् । केशरमहलको गार्डेन अफ ड्रिम्सजस्ता पार्क अलि धेरै वटा भइदिए डेटिङ गर्नेहरूलाई कता जाऊँ कता हुन्थेन होला । काठमाडौं महानगरपालिकाले ठाउँ–ठाउँमा पार्क बनाउने योजना सुनाएको थियो । तर, पार्क बनेको थाहै पाइएन । रत्नपार्क, त्रिभुवन वा बालाजु पार्कहरू स्तरीय छैनन् । यद्यपि, त्यहाँ हात समातेर हिँड्नेहरू भने देखिन्छन्, फाट्टफुट्ट ।
थरीथरीका जोडीहरू छन् काठमाडौंमा । कोही होटल वा क्याफेहरूमा डेटिङ जान्छन् । कोही राजधानी छेउछाउका डाँडातिर बाइकमा हुइँकिरहेका भेटिन्छन् । आधा रातसम्म क्लबमा हल्लिने जोडी पनि यहीँ छन् । कसैलाई पशुपति र स्वयम्भूका बाँदरले समेत डिस्टर्ब गरेको हुँदैन । गीत सुन्दै मायाका गफ गर्नेलाई दरबारमार्ग, ठमेल र झम्सिखेलतिरका रेस्टुरेन्ट फालाफाल भइहाले । 
अहिलेका मान्छे स्ट्ेरट फर्वाड छन् । मनको कुरा सीधा भन्दिन के गाह्रो छ र ? म्यासेन्जरमा लभको इमोजी पठाए पुगिहाल्यो । अलि अघिसम्म एसएमएस व्यापक थियो । अब च्याटले बोलीचाली बाक्लो बनाइदिन्छ । क्लासमा सरले पढाइरहँदा उनीहरू एक बेन्चबाट अर्को बेन्चमा च्याटमार्फत बोलिरहेका हुन्छन् । छेउको साथीलाई झर्कै लाग्ने गरी च्याट गर्नेहरू झेल्न कहिलेकाहीँ गाह्रो पर्छ । 
सामाजिक सञ्जालले एक्स्ट्रा म्यारिटल अफेयरका घटना बढाइदिएर जात्रै गरेको छ फेरि । डिभोर्स गर्नेको संख्या बढ्नुलाई समाजशास्त्रीहरू राम्रो मान्दैनन् । महिला अधिकारकर्मीको राय भने बेग्लै हुन सक्छ । प्रविधिले टिनएजरहरूलाई पनि बिनासित्ती व्यस्त बनाइदिएको छ । कतिपय त झन्झटमै फस्ने गरेका छन् । यसको समाधान गर्ने कसरी ? अभिभावक र प्रयोगकर्ताले अलिकति होस पुर्‍याए उपाय जटिल छैन ।
...
मेरो एक साथी छे, उसको ब्वाइफ्रेन्ड दुई–दुई हप्तामा चेन्ज हुन्छ । एकै जनालाई लामो समय झेल्न झ्याउ लाग्छ रे उसलाई । कलेजका होम–वर्क गराउनेदेखि अफिसका कतिपय काम उसका केटा साथीले गरिदिन्छन् । कोही केटा मनपरे ऊ आफैं ठोक्किन गएर ‘सरी’ भन्दै हिँड्छे । फिल्मी छे । उसको हिम्मत र कन्फिडेन्सचाहिँ डरलाग्दो छ ।
अर्को एउटा नमुना छ, जो पर्मानेन्ट गर्लफ्रेन्डको खोजीमा लागेको लामै भइसक्यो । अलि सोझी, पढाइमा तेज, जागिरे, अनुहार ठीकै भए पनि अन्तर जातकी केटी खोज्ने बहानामा उसले धेरै वटीलाई क्यूएफएक्स लगिसक्यो । खासै ह्यान्डसम नभएकाले होला धेरैले उसलाई डम्प गर्छन् । तर, आरवान फाइभ गुडाउने भएर हुन सक्छ उसलाई गर्लफ्रेन्डको अभाव खासै हुने गरेको छैन । 
मन परुन्जेल अफेयरमा रहने र अल्छी लाग्न थालेपछि सहमतिमै ब्रेकअप गर्ने ट्रेन्ड पनि सुरु भएको छ अलिअलि । यस्तो प्रेममा रुवाबासी, मनमुटाव हुँदैन । यही चलनमाथि थुप्रै फिल्म पनि बनेका छन् । ती समाज हेरेर बनेका हुन् कि समाजले त्यसबाट सिकेको हो, त्यो त स्टडी गरेपछि मात्रै थाहा होला । जेहोस्, काठमाडौं लभका मामिलामा लिबरल बन्दै गएको पुष्टि गर्नचाहिँ कुनै स्टडी आवश्यक छैन । 


लभ@सिटी अफ ब्युटी 
भीम घिमिरे/पोखरा
प्रेमिल जोडीले एकान्त चाहनु र प्रकृतिले मनोरम बनाएका ठाउँ घुम्न चाहनु अनौठो होइन । भ्यालेन्टाइन डे यदि पोखरामा मनाउन कोही चाहन्छन् भने त्यसलाई उपयुक्त निर्णय नै मान्नुपर्छ । किनभने धेरै जोडीहरू फेब्रुअरी १४ मा पोखरा घुमिरहेका भेटिन्छन् । 
लेकसाइडका रेस्टुराँ र डान्स बारमा राति अबेरसम्म तन्नेरीको भीड रहन्छ । राजधानी काठमाडौंबाट दुई सय किमिको यात्रामा पुगिने पोखरामा प्रेमिल जोडीले मन पराउने फेवाताल मात्रै होइन, नौला गन्तव्यहरू थपिएका छन् । तालहरूमा बोटिङ गर्दै किनारका कुनै रेस्टुराँमा क्यान्डल–लाइट डिनर गर्न चाहनेका लागि दर्जनभन्दा बढी ठाउँहरू ग्राहक पर्खिरहेको अवस्था छ । 
लेकसाइडको भीडभन्दा केही पर रमाउन चाहनेका लागि फेवातालको उत्तर–पश्चिमी किनारै–किनार खपौंदी र पामेसम्म नयाँ होटल–रिसोर्टहरू खुलेका छन् । फेवातालमा तालबाराही मन्दिर हुँदै पारिको किनारबाट आधा घण्टा जंगलैजंगल उकालो लाग्दा पुम्दीमा शान्ति स्तूप छ । यहाँसम्मको यात्रामा पनि उकालोका घुम्तीहरूमा बस्न र खानका लागि रिसोर्ट छन् । स्तूपसम्मै पुगेपछि पनि यहाँ बसेर पेय पदार्थको मजा लिँदै फेवातालको पूर्ण आकार हेर्ने ठाउँहरू छन् । लभ्ली हिल र सराङकोट पनि घुम्न चाहनेका लागि सजिला गन्तव्य छन् । भीडभन्दा बाहिर निस्केर लेखनाथको बेगनासताल वरपर घुमौं भन्नेका लागि सुन्दरीडाँडामा भ्यु–टावर बनाइएको छ । उक्त टावरबाट दायाँ–बायाँ बेगनास र रूपाताललाई हेर्न सकिन्छ । मौसम खुलेका दिन बेगनासमा हिमशृंखलाको छायाँ हेर्न–खिच्न मिल्छ । माझीकुना र सुन्दरीडाँडामा बासका लागि पनि होटल थपिएका छन् ।
शान्ति स्तूपबाट पश्चिम अलि माथि उकालो लाग्दा पुम्दीकोटको टावर भेटिन्छ । यहाँको कालाबाङ गाउँमा होमस्टेमा बास बस्न सकिन्छ । स्तूपा नजिकै रेस्टुराँ सञ्चालन गरिरहेका राजु छेत्रीको अनुभवमा विदेशीभन्दा धेरै नेपाली घुम्न आउने क्रम बढेको छ । ‘छोरेपाटनतिरबाट आए हुने, फेवातालमा बोटिङ गरेर केहीबेर उकालो हिँड्दै आउँदा पनि हुने,’ उनले भने, ‘घुमौं र यतिबेला लेकसाइडका होटल र रेस्टुराँहरूले भ्यालेन्टाइन स्पेसल प्याकेजहरू आफ्ना साइटमार्फत सार्वजनिक गरिरहेका छन् । लेकसाइडको ओजोन डिस्कोका सञ्चालक महेन्द्र गुरुङको अनुभवमा अंग्रेजी नयाँ वर्ष जत्तिकै जोडीहरूले भ्यालेन्टाइन डे पोखरा आएर मनाइरहेका हुन्छन् । उनले भने, ‘पहिले पहिलेजस्तो भ्यालेन्टाइन स्पेसल प्रोग्राम अब सीमित रेस्टुरेन्टहरूमा मात्रै छैन, अब जान चाहनेले पोखारभित्रै छान्न मिल्ने ठाउँ थुप्रै छन् ।’

चितवनमा भेराइटी

विमल खतिवडा

भ्यालेन्टाइन डे मनाउन कहाँ जाने भनेर दोधारमा नपर्दा हुन्छ । चितवनका रमणीय ठाउँहरूले आगन्तुकलाई पर्खिराखेका छन् । सौराहा यो बेला युगल जोडीहरूको गन्तव्य बन्ने गरेको छ । 
यो पटक पनि गत वर्षझैं जोडीहरूले सांगीतिक माहोलमा रमाउन पाउने छन् । 
क्षेत्रीय रेवान (रेस्टुरेन्ट एन्ड बार एसोसिएसन) ले ११ औं सौराहा फुड फेस्टिभलको आयोजना गर्दै छ । माघ २९ देखि फागुन ४ गतेसम्म हुने फुड फेस्टिभलमा घुम्न आउने आगन्तुकले विशेष छुट पाउने छन् । यो समयमा सौराहा रेवानमा आबद्ध रेस्टुरेन्टमा १५ प्रतिशत र क्षेत्रीय होटल संघमा आबद्ध होटलले १५ प्रतिशत छुटको व्यवस्था गर्दै छन् । 
हात्ती, गैंडा, बाघको काठबाट निर्मित मूर्तिलाई मायाको चिनो बनाउँदै हुनुहुन्छ भने त्यसको खरिदमा ३० प्रतिशत छुट पाउनु हुनेछ । अरू के छ सौराहामा ? हात्ती चढेर जंगल घुम्न पाइनेछ । चितवन निकुञ्जमा जिप सफारी गर्न पाइनेछ । त्यस्तै राप्ती नदीमा डुंगा सयर गर्दै चरा र गोही हेर्न पाइनेछ । सनराइजले मन लोभ्याउनेछ । नजिकै रहेको थारू र चेपाङ संग्रहालय घुम्न पाइनेछ । सौराहा, मेघौली र पटिहानी आगन्तुकको रोजाइमा पर्ने ठाउँ हुन् । यो बेला होटलहरूले विशेष छुटको व्यवस्था गर्छन् । 
मेघौलीको साराङ वाइल्डलाइफ स्याङचुरीले भ्यालेनटाइनको अवसरमा रुममा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । खाना र जंगल सफारीमा विशेष छुटको व्यवस्था गरिने सञ्चालक सुबोध प्रधान बताउँछन् । जंगल सफारीमा थकित भए पनि साँझ थारू कल्चरले त्यो थकान मेटाउनेछ । यो बेला नारायणी किनारले पनि फुर्सद पाउने छैन । किनारमा जोडीको ताँती लाग्छ । 
नारायणगढस्थित सुनगाभा बुक हाउसका सञ्चालक लेखराम सापकोटाका अनुसार माघ अन्तिमतिर आएर प्रेमसम्बन्धी पुस्तक बिक्री भएका छन् । 


बिजी नेपालगन्ज 
– कृष्णप्रसाद गौतम 

नेपालगन्ज मेडिकल कलेजमा नर्सिङ दोस्रो वर्ष पढ्दै गरेकी योजना केसीलाई यसपालिको भ्यालेन्टाइन डे विशेष रूपले मनाउने रहर छ । नेपालगन्जकै एक युवासँग केही महिनादेखि प्रेम सम्बन्धमा रहेकी उनले आफ्नो प्रेमीलाई उपहार दिने र साथीहरूबीच जमघट गरेर भ्यालेन्टाइन डे मनाउने योजना बनाएकी छन् । ‘अहिलेसम्म मैले भ्यालेन्टाइन डे नमनाएकीले यसपालि पहिलो प्रेम दिवसलाई विशेष तुल्याउने योजना छ,’ उनले लजाउँदै भनिन् । 
आदर्श उच्च माविमा कक्षा १२ मा अध्ययनरत सागर थापाले सँगै पढ्दै गरेकी साथीलाई प्रेम प्रस्ताव राख्ने योजना सुनाए । ‘हामीबीच पहिलेदेखि नै निकट सम्बन्ध रहिआएको छ,’ उनले भने, ‘तर प्रेम प्रस्ताव राख्न पाएको छैन । यसपालिको भ्यालेन्टाइन डेको पूरै दिन उनका लागि बिताउने र प्रेम प्रस्ताव राख्ने योजना बनाएको छु ।’ 
नेपालगन्जका विभिन्न होटलमा भ्यालेन्टाइन डेको अवसरमा विभिन्न कार्यक्रम भइरहेका हुन्छन् । नेपालगन्ज लगायत कोहलपुर, खजुरा लगायतका व्यापारिक केन्द्रमा प्रेम दिवसकै अवसरमा गुलाबको फूल, गिफ्टका सामग्री तथा गहनाको कारोबार बढी हुने गरेको छ । कलेजहरूमा पनि कार्यक्रम हुने गर्छ । स्थानीय महेन्द्र पार्क, बागेश्वरी पार्क, कटेज तथा रेस्टुरेन्ट लगायत स्थानमा किशोरीकिशोरीहरूको बाक्लो उपस्थिति हुन्छ । स्थानीय सीएसटी लगायतका होटलहरूले चर्चित डीजेहरूलाई बोलाएर डान्स कार्यक्रमहरू सञ्चालन गर्छन् । सिनेमा हलहरूमा पनि भीड लाग्छ । 

बुटवलको चहलपहल 

अमृता अनमोल

प्रेम दिवस नजिकिँदै जाँदा बुटवलमा चहलपहल सुरु भएको छ । गिफ्ट ग्यालरी प्रेम चिह्न अंकित कार्ड र आर्टिफिसियल गुलाब फूलले सजाइएका छन् । प्रेम चिह्न अंकित कार्ड, गुलाब फूलको माग र बिक्री बढेको व्यवसायी अंकित श्रेष्ठले बताए । बुटवलका विभिन्न होटलमा संगीत साँझ सुरु भएका छन् । त्यसमा पुग्ने युगल जोडी बढेका छन् । यद्यपि सुरक्षा र गोप्यताका लागि भ्यालेन्टाइन स्पेसल भनेर प्रचार भने गरिएको छैन । सधैंझैं प्रेम दिवसका दिन बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी र शंकरनगरको वन वाटिकामा विशेष कार्यक्रम आयोजना हुनेछन् । विभिन्न क्लबले बुटवलको हिलपार्क, शान्ति पार्क, सिद्धबाबा, मणिग्राम, भैरहवा र लुम्बिनीमा प्रेम दिवस विशेष कार्यक्रम राखेका छन् । रूपन्देहीको मध्य भाग पथ्थरडाँडामा विशेष सांस्कृतिक कार्यक्रम हुनेछ । बुटवल र भैरहवाका एक दर्जन होटलले सांगीतिक साँझ गर्दैछन् । 
रूपन्देहीमा विगतका वर्षमा प्रेम पीडित समूहका नाममा समेत कार्यक्रम हुने गरेको थियो । त्यसमा प्रेममा धोका खाएका वा विविध कारणले आफ्नो प्रेम सफल पार्न नसकेका युवाले समूह बनाएर विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम गरेका थिए । यो वर्ष पनि त्यसलाई निरन्तरता दिने समूहका सदस्य केशव थापाले बताए । 



Source : Kantipur

प्रकाशित: माघ २८, २०७३                                                                                      www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90