नातिलाई नेपाल झिकाउन साउनदेखि नै म्यानपावर धाइरहेको छु, पहिला फिर्ता गर्छु भन्थ्यो, अहिले ढोका थुनेर हामी बूढाबूढीलाई खुकुरी नचायो’
माघ २८, २०७३- ७३ वर्ष नाघेका लुभु ३, ललितपुरका रामकृष्ण खत्री प्रधानमन्त्री कार्यालयमा भेटिए । साथमा उनकी ७२ वर्षीया श्रीमती सानुकान्छी, छोरी अनिता र छोरा राधाकृष्ण थिए । लट्ठी टेक्दै बिस्तारै अगाडि बढ्दै गरेका खत्री आफ्नो पीडा सुनाउन प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यालयमा थिएनन् । प्रधानमन्त्री दाहालका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीसमक्ष आँसु झार्न पुगे ।
‘बाबु, मेरो नाति अमित केसीलाई उद्धार गर्नुपर्यो । कहीँकतै हाम्रो सुनुवाइ भएन । म्यानपावरमा पुग्दा हामीलाई खुकुरी देखाएर लखेटियो । वैदेशिक रोजगार विभागलाई म्यानपावरले टेर्दैन,’ रामकृष्ण भन्न थाले, ‘अब हामी कहाँ जाऔं ?’
उनका नाति अमितलाई फेसिलिटी म्यानपावर (लाइसेन्स नम्बर २७६) ले गत साउनको पहिलो साता साउदीको जेद्दास्थित आएद अल(बकमी इस्ट जनरल कन्स्ट्रक्टिङ कम्पनीमा पठाएको थियो । म्यानपावरलाई एक लाख रुपैयाँ बुझाएका थिए । ‘नाति दिनहुँ रुँदै फोन गर्छ । मेरो जिन्दगी यतै बित्ने भो भन्छ । खाना दिँदैन । तलब दिने गरेको छैन भन्छ,’ उनले बेलिबिस्तार लगाए, ‘त्यत्तिकै मन थामिएर बस्न सकिनँ । उसलाई नेपाल झिकाउन साउनदेखि नै म्यानपावर धाइरहेको छु । पहिला फिर्ता गर्छु भन्थ्यो । अहिले ढोका थुनेर हामी बूढाबूढीलाई खुकुरी नचायो ।’
म्यानपावरका मान्छेले खुकुरी देखाएर लखेटेपछि उनी त्यहाँ गएनन् । ‘म्यानपावरले दसैंमा ल्याउँछु भन्यो, ल्याएन । त्यसपछि दसंैपछि भन्यो । तिहारमा भन्यो । मंसिरमा भन्यो । उसले हामीलाई ढाँटिरह्यो मात्रै,’ उनले अधिकारीसमक्ष भने, ‘जसरी हुन्छ, नातिको उद्धार गरिदिनुपर्यो ।’
अधिकारीले साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी उद्धार गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू प्रधानमन्त्री कार्यालयबाट निस्किए । म्यानपावरसँग भएको सम्झौताअनुसार अमितले सेवासुविधा पाएका छैनन् । उनी जेद्दाको एबुकमा ट्ेरलर गाडी चलाउने गर्छन् । जेद्दा सहरबाट एक सय २० किलोमिटर टाढा पर्छ त्यो ठाउँ । ‘म कतारमा ट्ेरलर चलाउँथें । कतारको लाइसेन्स थियो । साउदीमा गाडी चलाए पनि लाइसेन्स दिएको छैन । लाइसेन्सबिना गाडी नचलाउँदा आएर पिट्छ,’ अमितले कान्तिपुरसँग फोनमा भने, ‘गाडी बिग्रियो भने तलबबाटै काट्छ । गाडी नचलेको दिन सिमेन्ट बोक्न लगाउँछ ।’
१८ सय रियल तलब पाउने सम्झौता भए पनि उनले १४ सय मात्रै पाएका छन् । ‘तीन महिनाको तलब दिएको छैन । एक सय किलोमिटर कुदाउँदा ५० रियाल दिन्छु भन्थे । त्यो पनि दिँदैनन्,’ उनले भने, ‘यहाँ ९ नेपाली थिए । ४ जना भागे । एक जनाको कार्यस्थलमै मृत्यु भयो । आफ्नै भाइको शव लिएर अर्को नेपालमा फर्किए । हामी ३ जना यातना सहेर बसिरहेका छौं ।’
उनीसँगै रहेका झापाका राज कटुवाल र विराटनगरका सोनाम राईले आफूहरू दयनीय अवस्थामा रहेको बताए । ‘कसरी निस्कने होला ? कहीँकतै फोन गरेको थाहा पाए मालिक आएर बेस्सरी पिट्छ । भारतीय कामदारलाई पनि त्यस्तै पिट्छ,’ कटुवालले भने ।
कामदारको उद्धार नगर्ने फ्यासिलिटी म्यानपावरको कामकारबाही रोक्का गरिदिएको वैदेशिक रोजगार विभागले जनाएको छ । ‘पीडित परिवारलाई न्याय दिलाउन म्यानपावरलाई समय दिएका थियौं । पटकपटक समय दिँदा पनि उद्धार नभएपछि हामीले म्यानपावरलाई कारबाही गरेका छौं’, विभागका महानिर्देशक विश्वराज पाण्डेले भने, ‘चार कामदारको उद्धार नभएसम्म म्यानपावरको काम रोकिन्छ ।’
0 comments:
Post a Comment