Top Ad 728x90

Sunday, February 12, 2017

,

भूकम्प गएको २१ महिना बित्दा पनि भक्तपुर ११,अनुदानबाट वञ्चित

लालपुर्जाविहीन कतिपय पीडितले क्षतिग्रस्त संरचना हटाएर पुनर्निर्माण गर्न थालेका छन् । नक्सापासका लागि नगरपालिका जाँदा लालपुर्जा नभएको भन्दै फर्काएपछि आफूखुसी पुनर्निर्माणमा लागेको उनीहरू बताउँछन् । 




- लीला श्रेष्ठ, भक्तपुर
फाल्गुन २, २०७३- भूकम्पले द्यौला बस्तीका लालपुर्जाविहीन ८२ मध्ये ५२ घर पूर्ण रूपमा क्षतिग्रस्त भए । भूकम्प गएको २१ महिना बित्दा पनि भक्तपुर ११, भेलुखेलस्थित द्यौला बस्तीका पीडित निजी आवास पुनर्निर्माणका लागि अनुदान पाउनबाट वञ्चित भएका छन् । यो बस्तीका पीडित अस्थायी टेन्टमा दिन बिताइरहेका छन् । घरजग्गाको लालपुर्जा नभएकै कारण उनीहरूले सरकारले उपलब्ध गराएको कुनै पनि राहत पाएका छैनन् । 

‘भूकम्पले हाम्रो बस्ती तहसनहस बनेको छ, तर हामीले अझै पीडितको पहिचान पाउन सकेका छैनौंं,’ स्थानीय चम्पा द्यौलाले भनिन्, ‘भूकम्पपीडितको परिचयपत्र बनाइदिन नगरपालिकामा सयौंपटक धायौं, केही भएन ।’

‘नगरपालिकाले हामीलाई परिचयपत्र दिन मानेन,’ मोहनबहादुर द्यौलाले भने, ‘सरकारले अन्य भूकम्पपीडितलाई दिएको कुनै पनि राहत हामीले पाएका छैनौं ।’ लालपुर्जाविहीन पीडितलाई जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत उपलब्ध गराएको अस्थायी टहराका लागि दिएको १५ हजार, न्यानो कपडा खरिद गर्न दिएको १० हजार रुपैयाँ पनि उपलब्ध भएन ।

भूकम्पले घर भत्किएर अस्थायी टेन्ट, मन्दिरको सत्तल र पाटीमा बसिरहेका पीडितलाई नगरपालिकाले बेवास्ता गरेको स्थानीय चरण द्यौलाले बताए । ‘२०२१ मा नापी आउँदा जग्गा अधिग्रहण गर्न आएको हल्ला चलाएपछि यहाँका अशिक्षित सर्वसाधारणले बस्दै आएको घरजग्गा पनि आफ्नो हो भन्न सकेनन्,’ उनले भने ।

भक्तपुर नगरपालिकाले भने लालपुर्जाविहीन भूकम्पपीडितलाई सहयोग गर्न नसक्ने जनाएको छ । लालपुर्जा नभएका पीडितहरूको नामावली गुनासो फारामअन्तर्गत पठाएको नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेलले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लालपुर्जा नभएका पीडितलाई निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम उपलब्ध गराउने भने पनि हालसम्म केही निर्णय भने गर्न सकेको छैन । प्राधिकरणले लालपुर्जाविहीन पीडितलाई अनुदान दिने विषय छलफल प्रक्रियामा रहेको जनाएको छ । लालपुर्जाविहीन पीडितका लागि कार्यविधि बनाएरै जाने कि अर्को विकल्प खोज्ने भन्ने विषयमा ठोस निर्णय हुनै बाँकी रहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

लालपुर्जाविहीन कतिपय पीडितले क्षतिग्रस्त संरचना हटाएर पुनर्निर्माण गर्न थालेका छन् । नक्सापासका लागि नगरपालिका जाँदा लालपुर्जा नभएको भन्दै फर्काएपछि आफूखुसी पुनर्निर्माणमा लागेको उनीहरू बताउँछन् ।



Source : Ekantipur 

प्रकाशित: फाल्गुन २, २०७३                                                                          www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90