Top Ad 728x90

Sunday, February 12, 2017

विप्लव माओवादीको महाधिवेशन सुरु– ‘एकीकृत जनक्रान्ति’को उद्घोष



फाल्गुन १, २०७३- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले तत्कालीन विद्रोहीको उदारताको फाइदा कांग्रेस र एमालेले उठाएको आरोप लगाउँदै अब एकीकृत जनक्रान्तिमार्फत् त्यसको जवाफ दिने चेतावनी दिएका छन् ।

                                                  ‘हामी डलर र भारुबाट संक्रमित हुँदैनौं’

facebook,google,f,g,dcnepal,ekantipur,canadanepal,onlinekhabar

फाल्गुन १, २०७३- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले तत्कालीन विद्रोहीको उदारताको फाइदा कांग्रेस र एमालेले उठाएको आरोप लगाउँदै अब एकीकृत जनक्रान्तिमार्फत् त्यसको जवाफ दिने चेतावनी दिएका छन् । सशस्त्र युद्ध थालेको २२ औं वर्षगाँठमा आइतबार राजधानीमा आठौं महाधिवेशन उद्घाटन गर्दै चन्दले त्यस्तो घोषणा गरेका हुन् । उनले एकीकृत जनक्रान्तिको स्वरुप स्पष्ट पारेनन्, बरु आवश्यक परे ‘राइफल र जिपिएमजी बोक्न तयार हुनुपर्ने’ जिकिर भने गर्दै रहे ।

‘माओवादीको आह्वानमा झुपडीको गरिबले काठमाडौंको दरबार ढाल्यो, केन्द्रको सत्तालाई घेराबन्दी गरेर यहाँ आइपुगेका थियौं, तर हामी उदार भइदिदा त्यसको फाइदा कांग्रेस र एमालेले लिए,’ चन्दले भने, ‘हामी हारेर आएका थिएनौं, तर बालुवाटार, लैनचौर, भट्टी पसलहरुबाट हाम्रै साथीहरुमा किटाणु पस्यो, तर हामी डलर र भारुबाट संक्रमित हुँदैनौं ।’ चन्दले केही नेतालाई किनेर, लोभ देखाएर माओवादी आन्दोलन सिध्याउने सपना नदेख्न चेतावनी दिए ।

माओवादी युद्धका तत्कालीन कमान्डर पुष्पकमल दाहाल अहिले बहालवाला प्रधानमन्त्री छँदा उनीबाटै फुटेर गएका त्यस बेलाका स्थायी समिति सदस्य चन्दले यस्तो चेतावनी दिदै गर्दा माओवादी कार्यकर्ताले ताली बजाएका थिए । चन्दले दाहालको माओवादी केन्द्रलाई पटक पटक ‘माके’ सम्बोधन गरे ।

महाधिवेशनमा माओवादी केन्द्रबाट शुभकामना दिन कोही गएन, बरु वैद्य माओवादीबाट हरिभक्त कँडेल पुगेका थिए । पार्टी नेता गुणराज लोहनीका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दललाई भने उद्घाटन समारोहमा निम्ता गरिएको थिएन ।

चन्दले आफूलाई कम्युनिस्ट र प्रजातन्त्रवादी दाबी गर्नेहरु सिंहदरबारमा रहेकै बेला ४० लाख सुकुम्बासी जनताको घरमा डोजर चलाइएको भन्दै उनीहरुले जनतालाई प्रजातन्त्रको पाठ सिकाउन नहुने चुनौती दिए । राष्ट्रिय स्वाधीनताको लडाइँ आफ्ना लागि प्राथमिक रहेको उनको जोड थियो ।



‘देशको सर्वाधिक संवेदनशील मानिने हवाई अड्डालाई यो राज्यले विदेशीको खल्तीमा हाल्यो, के हाम्रो सेना आफ्नो देशको सुुरक्षा गर्न सक्षम छैन ?’ उनले प्रश्न गरे, ‘हिजो सेनापुलिस यताबाट हामीसग लडै आए, हामी बन्दुक पडाउदै आयौं, तर आज बाँदरको तालमा नाच्नेले हामीलाई प्रजातन्त्र सिकाउने ? हाम्रो देशको पानी, जंगल हामीले छुन नपाउने ?’

प्रधानमन्त्री दाहालले दिनभरि लगाएर गर्ने भाषण एमाले अध्यक्ष केपी ओलीको एउटै तुक्काले ढाल्न थालेको भन्दै महासचिव चन्दले तीन दलको सिन्डिकेट आफ्ना लागि अमान्य रहेको बताए । उनले माओवादी परित्याग गरेका बाबुराम भट्टराईविरुद्ध पनि चर्को अभिव्यक्ति दिएका थिए ।

हिजो जेल परेका, लडेकालाई अहिले अपराधी बनाउन राज्य लागेको भन्दै उनले प्रधानमन्त्री दाहालतिर लक्षित गरे, ‘यस्तो बेलामा आफ्ना सदस्यहरुको पनि जिम्मा नलिने के को कमान्डर ? यस्तै हुन्छ कमान्डर ?’ उनले दाहाल र प्रधानन्याधीश सुशीला कार्कीले युद्धकालीन मुद्दाहरु खारेजीको निर्णयमा सही नगरे आफ्नो पार्टीले खारेज गरिदिने धम्की दिए ।

विस्तारविरुद्ध लड्न उक्साउने दाहाल नै अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अगाडि गरुढअघिल्तिरको सर्पझैं परेको चन्दको कटाक्ष थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले तिब्बती नेतासगै गोआको कार्यक्रममा बसेर कुटनीतिक संवेदनशीलताविरुद्ध चलेको उनले टिप्पणी गरे ।

स्वास्थ्यमन्त्री तथा कांग्रेस नेता गगन थापाविरुद्ध समेत आफूलाई प्रस्तुत गरेका चन्दले शेखर कोइरालाले भने राष्ट्रवादी अडान लिइरहेको भन्दै शंकाको लाभ दिनुपर्ने भनाई राखे । आफूहरुलाई समात्न अहिले पनि प्रयास भइरहेको दाबी गर्दै उनले ‘कसैले हराउन नसक्ने’ जिकिर गरे ।

झन्डै एक घन्टा लामो भाषण टुंग्याउनुअघि उनले सबै समस्याको जड संसदीय व्यवस्था भएको आरोप लगाए । ‘पूजीवादबाट समाधान सम्भव छैन, जाने नौलो जनवादी व्यवस्थामै हो,’ २२ वर्षअघि फागुन १ को उही उक्ति दोहोर्‍याउदै उनले भने, ‘सबै संकटको कारण संसदीय व्यवस्था हो । यो भत्काउन माओवादी पार्टी पहाडको जरुवा पानी खाएर उठ्नुपर्छ । सपना मरेका दिन माओवादी मर्छ ।’



चन्दले एमाले अध्यक्ष ओलीलाई विस्तारवादीले महाकालीमा चोबलेको, दाहाललाई कर्णालीमा चोबलेको आरोप लगाए । माओवादीले निजी क्षेत्रप्रति नकारात्मक भाव राख्ने हो कि भनी केही दिनअघिको एक भेटमा उद्योगी व्यवसायीले जिज्ञासा राखेको खुलाउदै उनले राष्ट्रिय पुजी प्रवद्र्धन गर्ने र निजी क्षेत्रको विकास गर्ने विषयमा आफ्नो दलमा अलमल नरहेको बताए । विदेशी पुजी लगानीविरुद्ध माओवादी नरहेको भन्दै उनले शर्त राखे, ‘तर त्यो पुजी हाम्रो देशको हितमा चाहि हुनुपर्छ ।’

संघीयता सबै समस्याको अचुक समाधान भएको भनी प्रचार भइरहे पनि त्यो गलत रहेको उनको भनाई थियो । संघीयताको नारा दिएर अधिकार खोस्न ‘दलालहरु लागिरहेको’ भन्दै उनले मधेसका गरिबहरु संघीयताको भ्रममा नपर्न आग्रह गरे । ‘पहाड मधेसका उत्पीडित जनतालाई संघीयताको नाममा फेरि ठग्ने खेल भइरहेको छ, क्षेत्रीहरुलाई उत्पीडकजसरी प्रचार गरिएको छ,’ उनले भने, क्षेत्रीहरु उत्पीडक होइनन्, भारत, राणा, राजा, पन्चायतसग लडै आएको क्षेत्री कसरी उत्पीडक हुन्छ ?’

माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्माले ‘जनयुद्धको सपना पूरा गर्न फेरि लड्नुपर्ने’ बताए । शुभकामना दिन आएका वैद्य माओवादी नेता कडेलबाहेक मन्चमा बसेका सबै नेताले १० वर्षअघि शान्ति प्रक्रियामा आएको माओवादीको सिको गर्दै हरियो र खैरो रंगको मिश्रित एउटै खालको कोट लगाएका थिए । डेढ दर्जनभन्दा बढी नेता मञ्चमा रहे पनि महिला भने एक जनामात्रै थिइन् ।

नेतृ खुमा सुवेदीलाई सहिद परिवार समाज अध्यक्षको हैसियतमा मन्चमा बसालिएको थियो । सामना सांस्कृतिक परिवारका कलाकारले ‘खाँचो परे लड्नेछौं बन्दुक भिरेर’ बोलको गीतमा नृत्य देखाएका थिए । कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट बसमा कार्यकर्ता ओसारिएको थियो । विप्लव माओवादीले बन्दसत्र भने फागुन ५ देखि युद्धको उद्गम थलो रोल्पाको गाउ थवाङमा गर्दैछ । जनताको चन्दा उठाएर करोडभन्दा बढी मूल्यको लागतमा बन्दसत्र हल निर्माण गरेको नेताहरुले कार्यक्रममा जानकारी दिए ।

तस्बिरहरु : अनुज बज्राचार्य



Source :
 Ekantipur

प्रकाशित: फाल्गुन १, २०७३                                                                         www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90