Top Ad 728x90

Tuesday, February 14, 2017

‘न्याय खोज्न कहाँ जानु ?’


सरकारले मुद्दा फिर्ता लियो, पति र ससुराको हत्या गर्नेहरू खुलमखुला घुमिरहेका छन्, न्याय खोज्न अब कहाँ जानु ?




- ठाकुरसिंह थारू, बाँके
फाल्गुन ३, २०७३- ६ वर्षदेखि कल्सुम नाउँ न्यायका लागि भौंतारिरहेकी छन् । बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको मुद्दालाई ०६९ असोज १८ गते तत्कालीन सरकारले फिर्ता लियो । कल्सुमले न्याय नपाएको अनुभूति गरिन् । जेल परेका व्यक्ति रिहा भएर ‘खुलमखुला’ हिँड्दा उनलाई अचम्म लागिरहेको छ । ‘पति र ससुराका हत्यारा यसरी हिँडिरहेका छन््, न्यायका लागि अब मैले कता जानु,’ उनले भनिन् ।

न्याय पाउने आसमा उनका परिवार नेपालगन्ज आउजाउ गरिरहेका छन् । ‘अदालतको फैसलाले न्याय पाएको अनुभूति भएको थियो । तर, सरकारले छोड्यो । पावर भएपछि जे पनि हुने रहेछ,’ आइतबार नेपालगन्जमा पत्रकार खोज्दै हिँडेकी उनले भनिन्, ‘ज्यान मार्ने व्यक्तिलाई सजाय होस् । हामीलाई सरकारले न्याय दिनुपर्‍यो ।’
गाउँको सडक ग्राभेल गर्न उपभोक्ता समितिको नेतृत्व लिने विवाद चर्किएपछि २०६६ चैत्र २९ गते नरेन्द्र चौधरी नेतृत्वको समूहले आक्रमण गर्दा बेतहनी ३ नौरीगौडीका कल्सुमका श्रीमान् गुलाम हुसेन सल्मानी र काकाससुरा मन्सव सल्मानीको मृत्यु भएको थियो । प्रहरीले उक्त घटनाका संलग्न व्यक्तिविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, लुटपाट, डाँकालगायतका ५ थान मुद्दा दर्ता गरेको थियो । बाँके जिल्ला अदालतले नरेन्द्रसहित तीन जनालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । घटनामा संलग्न स्थानीय सत्यनारायण बर्मा, अजमल खाँ, बद्रीविशाल चौधरी कुर्मी, महंगु भन्ने जियाउल हक खाँ भने फरार थिए ।
सरकारले मुद्दा फिर्ता लिएको विरुद्धमा कल्सुमका परिवारले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । उक्त मुद्दा सुनुवाइकै क्रममा रहेको छ । ‘मेरा भाइ मन्सव र भतिजा गुलाम हुसनेलाई मार्ने व्यक्तिहरू रिहा भएपछि सधैं त्रासमा छौँ । मान्छे मार्नेलाई सरकारले छोडेपछि हाम्रो कोही भएन,’ कल्सुमका ससुरा याकुब अहमद नाउ भन्छन्, ‘परिवारका दुई जनालाई मार्ने व्यक्तिहरू खुलेआम हिँडेको देख्दा मन रुन्छ ।’
हत्यामा बेतहनी १ सन्तलीयाका नरेन्द्र चौधरी, कायुम खाँ र मेघनाथ कुर्मीको संलग्नता ठहर गर्दै जिल्ला अदालतका तत्कालीन न्यायाधीश शेखर पौडेलको एकल इजलासले ०६९ असोज १६ गते नरेन्द्रसहित तीन जनालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सरकारको उक्त निर्णयले दण्डहिनता बढाएको मृतकका परिवारको गुनासो छ । ‘अदालतले हामीलाई न्याय दिन खोज्यो तर सरकारले अन्याय गर्‍यो । हामीजस्तो सर्वसाधारणले यो मुलुकमा न्याय पाउँदैनौं,’ पीडित कल्सुम भन्छन्, ‘हामी अपराधीहरूलाई कारबाही भएको देख्न चाहन्छौँ ।’




Source : Ekantipur

प्रकाशित: फाल्गुन ३, २०७३                                                                                  www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90