यो समुदायका युवा पहिले विदेश जान मान्दैनथे । जीविकोपार्जनको मूल स्रोत खेतीकिसानी थियो । त्यो पनि अर्काको अँधिया । युवा पुस्तामाझ खेती किसानीभन्दा पनि वैदेशिक रोजगारीमा आकर्षण बढ्न थालेको छ ।
झापाका किसान समुदायका महिलाहरू । तस्बिर : पर्वत/कान्तिपुर |
फाल्गुन २, २०७३- किसान भन्नेबित्तिकै कृषिकर्म गर्ने मान्छे बुझिन्छ । तर, झापामा किसान समुदाय नै छ । आदिवासी समुदायअन्तर्गतको यो जाति लोप हुने अवस्थामा पुगेको छ । जनसंख्या बर्सेनि घटदो छ ।
२०५८ को जनगणनामा किसानको जनसंख्या २ हजार ८ सय ७६ थियो । २०६८ सालमा आइपुग्दा जनसंख्या स्वात्तै घटेको छ । देशभर १ हजार ७ सय ३९ जना मात्रै छन् । यो समुदाय झापामा मात्रै छ । मेचीनगर, बाहुनडाँगी, धाइजन, शान्तिनगर र अनारमनीमा यिनको बसोबास छ ।
किसान समुदाय विकास उत्थान प्रतिष्ठानका अध्यक्ष कहरू किसानले असामयिक मृत्युदर वृद्धिका कारण जनसंख्या घटिरहेको बताए । ‘मादकपदार्थ सेवनका कारण धेरैले अकालमा ज्यान खेर फालेका छन,्’ उनले भने, ‘जनसंख्या गिरावटको मुख्य कारण यही हो ।’ सरकारले किसानलाई लोपोन्मुख जातिको रूपमा मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । भत्ता वितरणले पनि यो समुदायमा विकृति पैदा भएको छ । कसैकसैले बालबच्चालाई निजी स्कुल पढाएका छन् । धेरैले भने भत्ता दुरुपयोग गर्ने गरेको कहरू बताउँछन् । ‘भत्ता आइहाल्छ भनेर काम नगर्ने, जाँडरक्सी खाएर हिँड्ने जमात बढिरहेको छ,’ उनले भने, ‘भविष्यमा जातै मासिने पो हो कि भन्ने चिन्ता छ ।’
विदेश पलायन बढ्दो
यो समुदायका युवा पहिले विदेश जान मान्दैनथे । जीविकोपार्जनको मूल स्रोत खेतीकिसानी थियो । त्यो पनि अर्काको अँधिया । युवा पुस्तामाझ खेती किसानीभन्दा पनि वैदेशिक रोजगारीमा आकर्षण बढ्न थालेको छ । जमिनमा फस्टाएको प्लटिङले कृषियोग्य जमिन मासिन थालेपछि किसान समुदायका युवा गुजाराका लागि खाडी मुलुकमा सस्तो श्रम गर्न बाध्य छन् । २०६० सालदेखि उनीहरू वैदेशिक रोजगारीमा जान थालेका हुन् ।
को हुन् किसान ?
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ आदिवासी जनजातिमा पर्छ, किसान । राज्यको मूल प्रवाहबाट बहिष्करणमा परेको किसानलाई भूमिपुत्रका रूपमा लिइन्छ ।
आर्थिक, सामाजिक, राजनीतिक तथा शैक्षिक रूपमा यो समुदाय ज्यादै पछाडि छ । किसानहरू जंगल फँडानी गरेर बसेका थिए । सयौं बिघा जमिन थियो । अहिले धेरैजसो सुकुम्बासी छन् । अन्य जातिको बसाइँसराइका कारण पुख्र्यौली भूमिबाट यो समुदाय विस्थापित हुने अवस्थामा छ । ‘अन्य संस्कृतिको प्रभावले समेत हाम्रो समुदायको धर्म, संस्कृति लोप हुने अवस्थामा छ’, अगुवा भीम किसानले भने ।
किसानहरू ‘किसान भाषा’ बोल्छन् । यो सादरी भाषा समूहमा पर्छ । यो भाषाको आफ्नै छुट्टै लिपि भने छैन । तसर्थ, यिनीहरू लेख्य परम्पराको रूपमा देवनागरी लिपि नै प्रयोग गर्दछन् । किसानसहित मुण्डा, खडिया, उराँव, रौतिया, कवार, मालपाँडे, ग्वाल, करुवाले पनि सादरी भाषा बोल्छन् ।
‘राजा’ को प्रचलन
यो समुदायमा ‘राजा’ को प्रचलन छ । राजालाई महतो पनि भन्छन् । महतो भनेको घरबूढो हो । महतोसँगै वकिल र सिपाही हुन्छन् । यिनीहरूको आफ्नै नियम कानुन हुन्छ । आफ्नो समुदायभित्र हुने मुद्दा मामिला आफैं समाधान गर्छन् ।
‘महतोले समाजका मुद्दा मामिला मिलाउने र संस्कार र संस्कृति जगेर्नामा जोड दिन्छन्’, भीमले भने । किसानमा पुस्तैनी महतो राख्ने प्रचलन छ । भाविर किसान करिब १६ वर्ष राजा भए । यिनको असामयिक निधनपछि भतिजा सिक्ला किसान राजा बनाइएका छन् । राजाको निश्चित कार्यावधि हुँदैन । राजाको मृत्युपछि जेठो छोरा राजा हुन पाउने चलन भए पनि भाविरका तीनवटी छोरी मात्रै भएकाले भतिजा सिक्लालाई राजा बनाइएको हो । किसान समुदायभित्र हुने विवाह, मृत्यु लगायतका संस्कारमा ‘राजा’ को महत्त्व हुन्छ । राजाबिना सम्पूर्ण संस्कारहरू अधुरा हुन्छन् । कुटपिट, लेनदेन, सम्बन्ध विच्छेद, अन्तरजातीय विवाहका सबै मुद्दा राजाले मिलाउँछन् । कुटपिट गर्नेहरूलाई जरिवाना बापत जाँड र २ वटा धोती लिइन्छ भने अन्तरजातीय विवाह गर्नेलाई खसी र रकम तिराइन्छ ।
Source : Ekantipur
0 comments:
Post a Comment