Top Ad 728x90

Tuesday, October 24, 2017

,

‘धरान–चतरा–हेटौंडा सडक विस्तार तीव्र’




















कार्तिक ७, २०७४-धरानलाई चतरा, गाईघाट र सिन्धुली हुँदै हेटौंडा जोड्ने ३ सय १८ किलोमिटर सडकको निर्माण धमाधम भइरहेको छ । सडक विभागका अनुसार यस सडक खण्डमा पर्ने रूख कटान, विद्युत् पोल हटाउनेलगायतका कार्य तीव्र रूपमा अघि बढेको छ । 

दुई लेन विस्तार हुने उक्त सडकको चौडाइ ११ मिटर हुनेछ । तीन वर्षभित्र विस्तार गरिसक्ने भन्दै तीव्र रूपमा काम अघि बढेको धरान–चतरा–हेटौंडा पूर्व सडक खण्डका योजना प्रमुख उमेश विन्दुले जनाए । यो सडक हेटौंडाबाट सुरु भई भित्री मधेस, चुरेभावर, शिवालिक तथा दुन/उपत्यकालाई यातायात सञ्जालमा जोडदै धरान पुगेर टुंगिन्छ । 

सामरिक महत्त्वको सडक विस्तारपछि आसपास क्षेत्रको आर्थिक, सामाजिकलगायत गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्ने विन्दुले बताए । ‘अधिकांश सडक खण्डको ट्रयाक खोल्ने काम भइसकेको छ,’ उनले भने, ‘दुई लेन विस्तारसँगै कालोपत्रे सुरु गर्छौं ।’ 


सडकलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरिएको छ । उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्मको १ सय ३५ किमि पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किमि सडकलाई पश्चिमी खण्डका रूपमा विभाजन गरिएको छ । दुवै खण्डको टेन्डर मंसिरमै भइसकेको उनले बताए । तर, सिन्धुली, उदयपुर खण्डमा पर्ने विद्युतीय खम्बा हटाउने कार्यका लागि ठेक्कापट्टामा ढिलाइले काम अलि सुस्त भएको जानकारी उनले दिए । उदयपुर–सिन्धुली खण्डमा सडक विस्तार गर्दा ६ सयभन्दा बढी घरको मुआब्जा दिनुपर्ने भन्दै उनले जिल्ला प्रशासनसँग समन्वय गरेर काम भइरहेको उनले बताए । 

‘घरको मूल्यांकन र लागत संकलन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘कानुनी तरिका र जनतासँग समन्वय गरेर घर हटाउने काम हुन्छ, मुआब्जा पनि दिइन्छ,’ उनले भने । डक निर्माणको काम सम्पन्न भएपछि सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोडदै पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गको काम गर्ने उनले दाबी गरे । 

‘पूर्व–पश्चिम खण्डको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘पुल कल्भर्ट निर्माणका लागि पनि ठेक्का भइसकेको छ ।’ प्राय: सडक चुरे पहाडको उत्तरमा पर्छ । सिन्धुलीमाडीदेखि महेन्द्र झाडीसम्मको खण्ड मरिन खोलाको किनारमा पर्छ । प्रचुर खेतीयोग्य जमिनयुक्त भूभागका साथै दून उपत्यका भएर जाने उक्त सडकको भौगोलिक स्थिति समथरदेखि हल्का पहाडी रहेको उनले बताए । ‘उर्वरा भूमि भएर जाने भएकाले यो सडकको निकै महत्त्व छ ।’

यो सडक सुनसरीमा १८.८, उदयपुरमा १०८.५, सिन्धुलीमा १ सय ३५ र मकवानपुर जिल्लामा ४९.३५ किमि पर्छ । हालसम्म यस योजनाको कुल लम्बाइमध्ये करिब २० किमि कालोपत्रे, करिब १ सय १० किमि ग्राभेल छ भने बाँकी सडक धुलाम्ये अवस्थामा छ । योजनाका अनुसार सम्पूर्ण सडक दुई लेन विस्तार गरी स्तरोन्नति गरिनेछ । हाल कालोपत्रे भइसकेको करिब २० किमि बीपी राजमार्ग र पूर्वी खण्डको ४८ किमि सडक विभागले कालोपत्रे तथा विस्तार गर्ने जिम्मा लिएको छ । सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिनेछ । 

पश्चिम खण्डका प्रमुख कर्णबहादुर रानाभाटले पुलको निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको बताए । मकवानपुर र सिन्धुलीको अधिकांश स्थानमा २५ किमिभन्दा बढी सडक खण्डलाई दुई लेन निर्माणका लागि ट्रयाक खोलिसकिएको उनले जनाए । सडक विस्तार गर्दा पश्चिम खण्डमा ४ हजार ५ सय रूख र पूर्वी खण्डमा ८ हजार रूख काट्नुपर्नेमा ८५ प्रतिशत काम भइसकेको उनले जनाए । ‘सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर, रूख काट्ने काम पनि भइरहेको छ,’ उनले भने, ‘अब अवरोध भन्दा पनि हुन्छ ।’



श्रोत : कान्तिपुर



Top Ad 728x90